नेपाली सेनाका सैनिक अधिकृतहरुलाई बुटवल उद्योग बाणिज्य संघमा स्वागत

‘औद्योगिक सुरक्षाको महसुस हुन सकेन’
खबरपथ संवाददाता
४ मंसिर २०७६, बुधबार १९:२७

बुटवल । नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौ सेसन २६ कमाण्ड तालिममा सहभागि सैनिक अधिकृतहरुले बुटवल उद्योग बाणिज्य संघमा स्थलगत अवलोकन गर्नुका साथै संघले गरेका गतिबिधि बारे जानकारी लिएका छन् ।

तालिमकै सिलसिलामा प्रदेश ४ र ५ को अध्ययन भ्रमणमा निस्किएको ४० जना सैनिक अधिकृतको टोलीले बुधबार बुटवल उद्योग बाणिज्य संघमा स्थलगत अध्ययन अवलोकन गरेको हो ।

सैनिक अधिकृतहरुलाई स्वागत गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले संघको स्थापना, संघले गरेका व्यबसायिक तथा सामाजिक गतिबिधिका बारेमा जानकारी गराउँदै बुटवल उद्योग बाणिज्य संघ र नेपाली सेनाको बिचमा सुमधुर सम्बन्ध रहेको उल्लेख गरे । त्यस अवसरमा उनले नीजि क्षेत्रबाट औद्योगिक सुरक्षाको महसुस गर्ने गरी सरकारले काम नगरेका कारण दुई तिहाईको स्थिर सरकार आएपछि पनि नीजि क्षेत्र सोंचे अनुसार अंगाडी बढ्न नसकेको उल्लेख गरे ।

त्यस्तै नेपाली सेनाका महासेनानी सैनिक कलेजका शिक्षक द्रव्य भण्डारीले बुटवल उद्योग बाणिज्य संघ देशमै उदाहरणीय संस्थाको रुपमा अंगाडी आएको कारण अध्ययन भ्रमणमा बुटवल उद्योग बाणिज्य सघंलाई रोजिएको जानकारी गराए । गण्डकी प्रदेशको भ्रमण सकेर प्रदेश पाँचमा आएको टोलीले लुम्बिनी लगायतका क्षेत्रको अवलोकन भ्रमण गरि फर्किने पनि उनले जानकारी गराए ।

त्यस अवसरमा सैनिक अधिकृतहरुले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनका समस्या, कृषिलाई आधुनिकीकरण तथा व्यबसायिकरण गर्न संघले खेलेको भूमिका, सिमा पारिको फष्टाउँदो व्यापारले यस क्षेत्रमा पारेको असर लगायतका बिषयमा राखेको जिज्ञासामा संघका अध्यक्ष हमालले तेस्रो मुलुकबाट कामदार ल्याउनु पर्ने बाध्यता र औद्योगिक क्षेत्रको धरातल अध्ययन बिना ऐन आएकाले कार्यान्वयनमा समस्या भएको जानकारी गराए । सिमा पारिको फष्टाउँदो व्यापारले नेपाली व्यापारी व्यबसायीलाई समस्या मात्रै नभएर सिंगो मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको जानकारी गराउँदै उनले त्यसको समाधानकालागि सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै उनले कृषिको व्यबसायिक बिकास, आधुनिकीकरण, यान्त्रिकीकरण र कृषिमै उद्यमशिलता बिकासका लागि संघले निरन्तर बिशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको, रुपन्देही जिल्लामा औद्योगिक बिकासको अधार भएकै कारण औद्योगिक क्षेत्र बिकासकालागि सरकारलाई पैरवी गर्दै आएको जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन संघका कार्यसमिति सदस्य अनुपमान सैंजुले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*