मन्त्री गिरीद्धारा ट्रि–हाउस उद्धघाटन

पर्यटकीय गन्तब्य बनाउनको निम्ति ट्रि–हाउस
खबरपथ संवाददाता
८ मंसिर २०७६, आईतवार १९:२३

बुटवल । गुल्मीको सदरमुकाम तम्घास नजिकै पर्यटकीय गन्तब्य बनाउनको निम्ति निर्माण भएको ट्रि–हाउस (रुख घर) को उद्धघाटन गरिएको छ ।

जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ को उनायचौरमा सल्लाको रुखमा ट्रि–हाउस (रुख घर) को निर्माण गरिएको हो । ट्रि–हाउस (रुख घर) को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्धघाटनगरेका हुन ।

कार्यक्रममा मन्त्री गिरीले रुखमा निर्माण गरिएको ट्रि–हाउस (रुख घर) को अबलोकन पश्चात सम्बोधन गर्दै प्रदेश सरकार कानुन निर्माण गर्न ढिलाई हुँदा पर्यटकीय क्षेत्रमा सोचे अनुसार कामहरु हुन नसकेको बताए । अब कानुन निर्माण गरेर पर्यटनको क्षेत्रमा देखिने गरि कामहरु अगाडी बढाइने मन्त्री गिरीले बताए ।

उनले प्रदेश ५ सरकार पर्यटन क्षेत्रबाट समृद्ध बन्ने भएकाले आफु योजनाबद्ध रुपमा लागिपरेको बताए । यस प्रदेशमा पर्यटनको क्षेत्रमा अगाडी रहेकाले कृषिमा रहेको प्रधान अर्थतन्त्रलाई केहि वर्ष पर्यटन आधारमा रहेको प्रधान अर्थतन्त्रको रुपमा अगाडी बढाउने मन्त्री गिरीको भनाई छ ।

पर्यटन क्षेत्रलाई अगाडी ल्याउन र यसक्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुलाई बृहत्तर बिकास गर्न तिनै तहको सरकार मिलेर अगाडी बढने बताए । गत भदै ३ गतेखि सञ्चालनमा आएको ट्रि–हाउस (रुख घर) मा करिब २० हजारले अवलोकन गरिसकेका छन् ।

४२ फुट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर निर्माण गरिएको छ । रुखको टुप्पोमा पुग्न एक सय सिँढी उक्लनु पर्छ । त्यहाँबाट तम्घास सहित उत्तरका मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

ट्रि–हाउस (रुख घर) मा चढ्न टिकट विद्यार्थीलाई १० रुपैयाँ, अन्यलाई २० र ज्येष्ठ नागरिकलाई निःशुल्क व्यवस्था गरिएको छ । उनायचौर भगवती मन्दिर व्यवस्थापन समितिले प्रदेश ५ को वन मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय गुल्मी र उपभोक्ताको गरि १३ लाख ३८ हजार नौ सय ११ रुपैयाँ लगानीमा रुखको टुप्पामा घर निर्माण गरेको हो ।

ट्रि–हाउस अबलोकनबाट लिइएको शुल्कबाट झण्डै २ लाख रकम संकलन भइसकेको छ । संकलित रकम कोषमा जम्मा गर्ने र अन्य पर्यटकीय संरचना निर्माण गरिने आयोजकले जनाएको छन् ।

जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने स्थलमा सवारीका साधनबाटै पुग्न सकिन्छ । ट्रिहाउस अबलोकनमा लागि पुग्ने गरेकाहरु निकै रमाइलो र अनौठो खालको लागेको बताउने गरेका छन् ।

उनाएचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । प्राबिधिक समस्या देखिए पछि सिमीचौरमा निर्माण भइरहेको छ ।

बिमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय ट्रि–हाउस (रुख घर) , खेल मैदान र पर्यटकीय पार्क बनेपछि स्थानीयहरु उत्साहित भएका छन ।
त्यस स्थलको अबलोकनमा पुग्नेहरुले गर्दा नजिकै रहेका होटल तथा पसलहरुको व्यवसाय पनि बढेको व्यवसायीहरु बताउछन ।

बिभिन्न क्षेत्रको आर्थिक सहयोगमा ट्रि–हाउस (रुख घर) सँगै, पर्यटकीय पार्क बनाउनको निम्ति पनि अगाडी बढने योजना बनाइएको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेयले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*