मेडिकल कलेजलाई राष्ट्रियकरण गर : डा. केसी

खबरपथ संवाददाता
९ मंसिर २०७६, सोमबार २०:५५

काठमाडौँ । डा. गोविन्द केसीले चर्को शुल्क असुल्दै आएका मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन् । सरकारले दिएको समयसीमाभित्र अतिरिक्त शुल्क फिर्ता नगर्ने सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउन र मेडिकल कलेजलाई राष्ट्रियकरणको प्रक्रियामा लैजान उनको सुझाव छ ।

आफैंले तोकेको शुल्क लागू गर्नुको सट्टा सरकारले बढी शुल्क लिने कलेजको संरक्षण गरिरहेको उनको आरोप छ । ‘सरकारले दिएको पछिल्लो अल्टिमेटम सकिँदा पनि शुल्क फिर्ता नभएकाले तत्काल ठगी गर्नेहरूलाई पक्राउ गरेर फौजदारी मुद्दा चलाउन तथा मेडिकल कलेजहरूको राष्ट्रियकरणको प्रक्रिया सुरु गर्न पनि माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । संरक्षणकै कारण शुल्कमा अर्बौं रुपैयाँ कालोबजारी गर्नेहरु दण्डित हुनुको साटो पुरस्कृत हुँदै गएको उनको भनाइ छ ।

अतिरिक्त शुल्क फिर्ता गर्न विद्यार्थीले मेडिकल कलेजहरूलाई बारम्बार दबाब दिए पनि सुनुवाइ नभएको केसीे बताए । कलेज सञ्चालकका सामु सरकार लाचार देखिएको उनको आरोप छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सार्वजनिक रूपमा ठगी गर्ने कलेज सञ्चालकहरूलाई कारबाही गर्ने भने पनि ठगहरूका नाइके उनकै पार्टीका नेता तथा हितैषी भएका कारण केही गर्न नसकेका हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको संरक्षण प्राप्त अपराधीहरूले शुल्क फिर्ता नगर्ने मात्र होइन, विद्यार्थीलाई अमानवीय यातना र धम्की दिइरहेका छन् ।’ अतिरिक्त शुल्क फिर्तार्लगायत माग पूरा नभए आफू पुनः आन्दोलनमा उत्रने उनको चेतावनी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*