पाल्पाको रैनादेवी मन्दिर सम्भावना बोकेको क्षेत्र

खबरपथ संवाददाता
११ मंसिर २०७६, बुधबार १६:४६

पाल्पा । प्रदेश पाँचका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले पाल्पा जिल्ला प्राकृतकि रुपमै पर्यटनको सम्भावना बोकेको जिल्ला भएको बताएका छन् । उनले पाल्पाको पश्चिम रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीमा रहेको रैनादेवी मन्दिर गोखुङ्गामा न्वागी मेलाको उद्घाटन गर्दै पश्चिम पाल्पाको महत्वपूर्ण रैनादेवी मन्दिर अत्यन्तै सम्भावना बोकेको क्षेत्र रहेको बताए । उनले यस क्षेत्रको पुर्वधार नहुँदा भएका धार्मिक पर्यटकीय क्षेत्र ओझलमा परेका कारण अब प्रदेश सरकारले प्रदेश भित्रका धार्मिक पर्यटकीय क्षेत्रको योजना बनाएर बिकास गर्ने समेत बताए ।
रैनादेवी मन्दिरमा विभिन्न कार्यक्रम गरेर सोमबार र मंगलबार न्वागी मेला राखिएको हो । रैनादेवी गोखुङगामा रहेको रैनादेवी मन्दिरको स्थापना गरेर पुजा गर्दै नयाँ अन्न भियाउँदा यहाँ न्वागी खाने र पर्वका रुपमा मान्ने गरिन्छ ।
धार्मिक र सांस्कृतिक स्थल रैनादेवी मन्दिरको प्रचारप्रसारका लागि अघिल्लावर्षदेखि न्वागी महोत्सव गर्न थालेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । यस वर्षको नयाँ धान भियाएपछि नयाँ चामल देवीको मन्दिरमा चढाएर चालम दहीमा मिसाएर खाने गरिन्छ । जसलाइ न्वागी भन्ने गरिन्छ ।

नयाँ चालम पहिले देवीको घरमा चढाउने र त्यसपछि त्यहाँका स्थानीय बासिन्दाले नयाँ चामल, दही र केरा मिसाएर न्वागी खाने प्रचलन बोकेको छ । यो क्षेत्रको बिकासमा प्रदेश सरकार लागी पर्ने प्रदेश सासंद तुलाराम घर्ती, बीरबहादुर राना, नारायण आचार्य, डा. पुरनमान बज्राचार्यको भनाई रहेको छ ।

रैनादेवी मन्दिर सञ्चालनार्थ परापूर्व कालदेखि स्थानीय राजा रजौटाहरूद्वारा गुठीको व्यवस्था गरी मगर जातिका पुजारीले पूजा आजा गर्ने व्यवस्था छ ।

जङ्गलभित्र रैनादेवीको शक्ति पीठ, सत्य देवी र कालिकाको मन्दिर रहेकाछन् । मन्दिरमा आठ सय वर्ष पुरानो घन्ट रहेको उल्लेख गरिएको छ । घन्टमा उल्लेख भएअनुसार मन्दिरको नाम पहिले ‘रोइन देवी’ रहेको र पछि सजिलोका लागि रैनादेवी बनेको हुन सक्ने वडाध्यक्ष लाल बहादुर दर्लामीले बताए ।

न्वागी बाहेक पनि यहाँ दशैंको महाअष्ठमीका दिन मध्यरातमा गरिने कालिका पुजा, सोरठी नाच, सराँय, मालश्री, बालुन र ख्याली नाच यहाँका प्रमुख आकर्षण हुन् ।

धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका दर्जनौ हिमशृङखलाहरूको मनमोहक दृश्यावलोकन गर्न सकिने यो स्थान अत्यन्त सुन्दर एंव प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।

यो मन्दिरमा न्वागी पर्वमा विशेष मेला लाग्नुको साथै बढी मात्रामा बली चढाईन्छ । रैनादेवीसँग मागेको बर कहिल्यै पनि खेर नजाने मन्दिर व्यावस्थापन समितका अध्यक्ष भेषराज पन्थीले बताए ।

न्वागी मेलाको दिन प्रतेक गाउँ बाट सोरठी नाच, समेत प्रस्तुत भएको थियो । उत्कृष्ट नाचलाई गाउँ र वडापालिकाबाट पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट नाच मध्य पहिलो हुने नाचलाई १५ हजार प्रमाणपत्र, दोस्रो नाचलाई १२ हजार प्रमाणपत्र र तेस्रो नाच लाई १० हजार र प्रमाण पत्र साथै सहभागी सबै नाचलाई लाई ३ हजार पुरस्कार गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*