प्रधानमन्त्री ओलीको पाँचौँपटक डायलासिस

खबरपथ संवाददाता
११ मंसिर २०७६, बुधबार २१:५७

काठमाडौं । मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार साँझ पुनः डायलासिस गरिएको छ। उनको स्वास्थ्यमा सुधार आएपछि नियमित गरिँदै आएको मिर्गौलाको डायलाइसिस गरिएको हो।

स्रोतका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार देखिए पछि साँझ नियमति गरिँदै आएको मिर्गौलाको डायलाइसिस गरिएको हो। प्रधानमन्त्री ओलीको यो पाँचौँपटकको डायलासिस हो। उनको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा कात्तिक १३ गते , १४ गते, ३० गते र मंसिर ८ गते डायलासिस गरिएको थियो। करिब १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका उनको मिर्गौलामा छिटोछिटो समस्या देखिएपछि नियमित डायलासिस गराउँदै आएका छन्।

यसअघि मंगलबार बिहान अत्याधिक पेट दुखेपछि उनलाई महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। एपेन्डिक्समा जमेको पिप फुटेर पेटमा संक्रमण भएपछि उनी गम्भीर बिरामी परेका थिए। प्रधानमन्त्री ओलीको मंगलबार शल्यक्रिया गरिएको थियो।

अहिले उनको स्वास्थ्य उल्लेखनीय सुधार देखिएको अस्पतालले जनाएको छ। यद्यपि उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा. उत्तम कृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*