नरपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्री पोखरेलद्धारा श्रद्धाञ्जली

खबरपथ संवाददाता
१२ मंसिर २०७६, बिहीबार १९:११

बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधवार दिउँसो बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंखर पोखरेलले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बिहिबार शोक विज्ञप्ति जारि गर्दै उनले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रुबहाक बस बुधबार अपरान्ह सन्धिखर्क नगरपालिका–६ नरपानी रातामाटेमा दुर्घटना हुँदा १९ यात्रुको निधन र १६ यात्रु घाईते भएको खबरले स्तब्ध बनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अवस्था लगायत विविध कारणले दुर्घटना बढिरहेका छन् । पहाडी क्षेत्रको कठिन भूगोलमा निर्माण गरिएका साँघुरा सडकमा तीब्र गतिमा गाडी हुइँकाउने प्रवतिले पनि दुर्घटनाको जोखिम बढेको छ । दुर्घटनाको कारण पत्ता लगाएर यतिखेर सरकारले सडक विस्तारको कामलाई तीब्र बनाएको छ । चालकलाई दुर्घटना जोखिमबारे सचेत गराइरहने कार्यक्रम चलिरहेको छ ।

बढ्दो दुर्घटनालाई न्युनिकरण र रोकथाम गर्न नसक्ने हो भने आगामी दिनमा नेपाली समाजमा यसले ठूलो समस्या ल्याउने देखिन्छ । तसर्थ प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्दैछ । यो अभियानलाई सफल बनाउन स्थानीय तह, यातायात व्यवसायी, मजदुर लगायत सबै सरोकारवाला निकाय एकताबद्ध भई अघि बढ्न हार्दिक अपील गर्दछु ।

दुर्घटना लगत्तै उद्वारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय राजनैतिक दलका नेता, कार्यकर्ता र स्थानीय समुदायको सक्रियता र पहलकदमीको म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
शंकर पोखरेल
मुख्यमन्त्री

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*