कोरिया परीक्षा कम्प्युटरबाटै सञ्चालन गर्न प्रस्ताव

खबरपथ संवाददाता
१२ मंसिर २०७६, बिहीबार २०:०५

काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अनुसार जाने नेपाली कामदारको भाषा परीक्षा कम्प्युटरबाटै सञ्चालन गर्न नेपाललाई अनुरोध गरेको छ ।

कोरियन मानव संशाधन विकास सेवाका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वको टोलीले बुधबार वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाल समक्ष यस्तो प्रस्ताव राखेको हो। कोरियाले नेपालले मात्रै कम्प्युटरबाट परिक्षा गर्न बाँकी रहेका जनाएको छ।

‘इपिएस प्रणालीबाट कोरियामा कामदार पठाउने १६ राष्ट्रहरुमध्ये कम्प्यूटरमा आधारित परीक्षा प्रणाली लागू गर्न नेपाल मात्रै बाँकी छ,’ भेटमा जाएकोले भने, ‘त्यसको लागि चाहिने भौतिक पूर्वाधार तयार गर्न हामी अनुरोध गर्दछौं।’

उनले इपिएस प्रणालीबाट रोजगारीका लागि कोरिया गई अवधि पुरा भैसकेपछि पनि गैरकानूनी तवरले बसिरहेका नेपाली कामदारको विषयमा चासो व्यक्त गरेका थिए। उनले इपिएस टोपिक भाषा परिक्षा तथा दोस्रो चरणको दक्षता परीक्षामा नक्कली परीक्षार्थी नियन्त्रणका लागि थप कदमहरु चाल्न समेत बिभागको ध्यानाकर्षण गराएका थिए।

भूसालले कोरियन पक्षले उठाएका विषयहरुमा विभाग गम्भीर भएको बताउँदै नक्कली परीक्षार्थीलाई कानून अनुसार सार्वजनिक मुद्दा दायर गर्ने तयारीमा विभाग रहेको बताए। उनले विभाग कम्प्यूटरमा आधारित परीक्षा प्रणालीका लागि आगामी जेठ १५ सम्ममा भवन लगायतका पूर्वाधार तयार गर्ने गरी काम भैरहेको जानकारी गराए।

‘इपिएस प्रणालीबाट कोरिया जाने नेपालीहरुका लागि उपदान लगायतका व्यवस्था हुन कोरिया सरकारका सम्बन्धित पक्षसाग छलफलका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत अनुरोध गर्ने तयारी विभागले गरिरहेको तथा सन् २०१७ मा भाषा परीक्षा उत्तीर्ण गर्नेहरु र प्रतिबद्ध सूचीमा रहेका कामदारहरुलाई यथासम्भव छिटै रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गरिदिन अनुरोध गर्दछु,’ भेटमा उनले भने।

किमले कोरियाली अर्थतन्त्रमा आएका संरचनागत परिवर्तनले गर्दा पहिले नै भाषा परीक्षा गरेका नेपाली कामदारहरु रोजगारीका लागि जान समय लागेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*