१६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

खबरपथ संवाददाता
१९ मंसिर २०७६, बिहीबार १९:५३

भैरहवा, १९ मंसिर ।

समुदायको टोलटोलमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका स्वास्थ्य क्षेत्रमा अहम् रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । सिद्धार्थनगर गरपालिकाले १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बिहीबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाले मुख्य भूमिका खेलेको जनाए । यस वर्ष ‘गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भूमिका’ भन्ने मूल नाराका साथ स्वयंसेविका दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख उमा काफ्लेले स्वास्थ्य क्षेत्रको पहिलो खम्बा स्वयंसेविका भएको औल्याइन् । उनले भनिन्, ‘आमसमुदायको घरघरमा पुगेर स्वयंसेविकाले सेवा दिन्छन्, उनीहरुले समुदायसँग प्रत्यक्ष भलाकुसारी गर्छन् । सानातिना रोगहरुको उपचार विधि बताउँछन् । यसैले स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको पहिलो खम्बा हुन् ।’ उनले स्वयंसेविकालाई राज्यले राम्रोसँग परिचालन गर्न सके मातृशिशु र बाल स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गर्न सकिने जनाइन् । विना पारिश्रमिक स्वास्थ्य सुधारमा लागेका स्वयंसेविका हरेक स्थानीय तहको अभिन्न अंग भएको उनले जनाइन् ।

स्वयंसेविकालाई राम्रो सेवासुविधा उपलब्ध गराउन सके स्वास्थ्य क्षेत्रलाई अझै मजबुत बनाउन सकिने उनको भनाई छ । काफ्लेले नगरपालिकाले स्वयंसेविकाको क्षमता बृद्धिमा विषेश ध्यान दिने र आगामी दिनमा तालिमहरु आयोजना गर्ने जनाइन् । प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले विना पारिश्रमिक निस्वार्थ रुपमा स्वयंसेविकाले सेवा गरेको भन्दै प्रशंसा गरे । उनले नगर मात्रै नभई सिंगो मुलुकबाट मातृशिशु र बालमृत्युदर नियन्त्रणमा अतुलनीय योगदान गरेको जनाए ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले अहिले स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी बनाउँदै लैजानु पर्ने जनाए । उनले क्षमता अभिबृद्धिका काममा स्थानीय तहहरुले विशेष ध्यान दिनुपर्ने जनाए । स्वास्थ्य स्वयंसेविका सिद्धार्थनगर प्रमुख लक्ष्मी पाण्डेले स्वास्थ्य क्षेत्रमा आफूहरुले महत्वपूर्ण योगदान गरे पनि माथिल्लो निकायबाट आफूहरुका समस्या समाधानमा बेवास्ता गरिएको जनाइन् ।

कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नगरभित्र स्वयंसेविकाको रुपमा काम गर्ने एक सय जना स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला ओढाएर सम्मान समते गरिएको थियो । यस्तै, उनीहरुलाई परिचय पत्र पनि प्रदान गरिएको नगरपालिकाले जनाएको छ । स्वयंसेविका नगर अध्यक्ष पाण्डेको अध्यक्षता तथा जनस्वास्थ्य अधिकृत उमा थापाको स्वागत तथा नगरपालिका नर्सिङ निरीक्षक गीतादेवी न्यौपानेको संचालनमा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*