बुटवल उपमहानगर बेसाहारा सडक मानवमुक्त घोषणा

‘समृद्ध प्रदेश खुशी जनता’को परिकल्पनाको शुरुवात : कानूनमन्त्री केसी
निरा गौतम/रासस
५ पुष २०७६, शनिबार २१:२८

रुपन्देही । बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको छ ।

सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी बृद्धबृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्धेश्यले बुटवल उपमहानगरले आज विशेष समारोह आयोजना गरेर सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरेको हो ।

घोषणा सभामा सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा कार्यान्वयनको सुनिश्चितताका लागि बुटवल उपमहानगरपालिका, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय र मानवसेवा आश्रम तथा नगरबासीहरुले प्रतिबद्धता जनाए ।

घोषणा कार्यक्रममा बोल्दै प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसीले बुटवललाई सडक मानवमुक्त घोषणा गरेर “समृद्ध प्रदेश खुशी जनता” परिकल्पनाको साकार पार्ने अभियानको थालनी गरिएको बताए । “यति व्यस्त शहरमा बेसहारा मानव मुक्त सडक बनाउने अभियान सफल पार्नु चानचुने कुरा होइन । यो कार्य प्रशंसनीय छ ।” उनले भने । आफनै भित्रबाट अभिभावकत्व गुमाउनुपर्दाको पिडा धेरै हुने बताउदै उनले यो अभियानले परिवार र समुदायलाई सकारात्मक सन्देश दिएको धारणा राखे ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले मानव अधिकारको संरक्षण गर्ने दायित्व सरकारको भएकाले नगर सरकारले यसको जिम्मेवारी निर्वाह गरेको बताए । सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोहि पनि व्यक्ति सडकमा भौतारिनु नपरोस भन्ने उद्धेश्यले प्रदेशलाई नै सडक मानवमुक्त बनाउने अभियानमा सरकार लागेकाले सहयोग गर्न सबैलाई आव्हान गरे ।
प्रदेश सभाका सदस्यहरु भोज प्रसाद श्रेष्ठ, फकरुद्धिन खान, जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा लगायतले गौतमबुद्धको भूमि मानवताको शहरको रुपमा विकसीत हुदै गएको बताए ।

उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त घोषणा गर्दै उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले अबका दिनमा बुटवलको सडकमा कुनैपनि व्यक्तिले जिवनयापन गर्नु नपर्ने बताए । उनले मानवसेवा आश्रमको क्षमता तथा गुणस्तर वृद्धि गरि सेवालाई दिर्घकालीन बनाउन नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारको रुपमा कार्यान्वयन गर्ने चरणमा मानव सेवा आश्रमसँग सहकार्य गरि सडकमा बेसाहरा रुपमा जीवन बिताउनुपर्ने बाध्यतामा रहेका मानवहरुलाई उद्धार, उपचार र आवासको व्यवस्था मिलाउने काम सम्पन्न गरि बुटवल उपमहानगरलाई सडक मानवमुक्त बनाइएको उपप्रमुख गुमादेबि आचार्यले बताइन् ।
नगरलाई बेसाहारा सडक मानवमुक्त बनाउन बुटवल उपमहानगरपालिकाले यसअघि सरकारी निकाय, सामाजिक संघ संस्था,नागरीक समाज, संचारकर्मी, टोलविकास संस्था, विभिन्न समुह, सामुदायिक संघसंस्था क्लब समाजसेवी, बुद्धिजीवि, उद्योग व्यवसायी, स्वास्थ्य संस्था, शैक्षिक संस्थासंग समन्यवन र सहकार्य गरेको थियो ।

शारिरीक तथा मानसिकरुपमा अशक्त मनोरोगी, अनाथ, अपांगता भएका व्यक्ति र सहयोगापेक्षी मानवहरुको उद्धार, उपचार र पालनपोषण गर्ने उद्धेश्यले सामाजिक विकास मन्त्रालय र उपमहानगरपालिकाको सहयोगमा बुटवलमा मानव सेवा आश्रमको स्थापना गरिएको हो ।
सहयोगापेक्षी सडकमानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनको लागि बुटवल उपमहानगरपालिका र मानवसेवा आश्रमबिचको सहकार्यमा गतसालको पुस ७ गतेदेखि यता १ वर्षको अवधिमा १९७ जनाको उद्धार गरिएको आश्रमका सञ्चालक रामजी अधिकारीले जानकारी दिए ।

घोषणा कार्यक्रममा सहयोगापेक्षी सडकमानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि योगदान पुर्याउने मानव सेवा आश्रमका शुसिला केसी, सरु अधिकारी, टिकामाया थापा, गंगा थापा र होमनाथ पौडेललाई सम्मान गरिएको थियो । घोषणा सभापूर्ब बुटवलमा झाँकी सहित बृहद र्याली निकालीएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*