लुम्बिनी प्रादेशिक अस्पतालका पाँच चिकित्सक बर्खास्त

खबरपथ संवाददाता
२६ चैत्र २०७६, बुधबार १८:२६

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पाँच जना चिकित्सकहरुलाई जागिरबाट बर्खास्त गरेको छ । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन अवस्थामापनि विना जानकारी कार्यक्षेत्रमा नआएपछि पाँचजना चिकित्सकहरुलाई बर्खास्त गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिनुभयो ।

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई जागिरे सेवाबाट हटाइएको हो ।

चिकित्सकहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित रहेको डा राजेन्द्र खनालले जानकारी दिनुभयो । हटाइएकाहरु करारमा नियुक्त चिकित्सक हुन ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीका बेलामा पनि सेवामा नखटिने चिकित्सकलाई कारवाही गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार नै अस्पतालबाट कारवाही गरिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*