जनमुक्तिद्वारा प्रादेशिक अस्पताललाई पि.पि.ई. सहयोग

खबरपथ संवाददाता
२७ चैत्र २०७६, बिहीबार १९:५०

बुटवल । प्रदेश नं – ५ को लुम्बिनी प्रादेशिक अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री सहयोग गरिएको छ । देश अहिले कोरोना भाइरस कोभिड –१९ का विरुद्ध लडिरहेको अवस्थामा राष्ट्रिय जनमुक्ति पार्टीले लुम्बिनी प्रादेशिक अस्पताल सहित रुपन्देहीका विभिन्न अस्पतालहरुलाई व्यक्तिगत सुरक्षा सामग्री पि.पि.ई. लगायत सेनिटाईजर, मास्क र ग्लोभ्स सहयोग उपलब्ध गराएको हो । सरकारले चालिरहेको कोरोना विरुद्धको लडाइमा सहकार्यका लागि राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं ५ र जिल्ला कार्यसमिति रुपन्देहीले उक्त सहयोग उपलब्ध गराएको हो ।

पार्टीले लुम्विनी प्रादेशिक अस्पताल बुटवललाई ५ थान पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट पि.पि.ई. सहित सहयोग उपलब्ध गराएको हो । उक्त पि.पि.ई.लुम्विनी प्रादेशिक अस्पतालका मेसु डा. कृष्ण खनाललाई राष्ट्रिय जनमुक्ति पार्टीका प्रदेश नं ५ अध्यक्ष झम बहादुर गुरुङले बिहिबार अस्पतालमै पुगेर प्रदान गर्नुभएको हो ।

उक्त सहयोग बुझ्दै डा. खनालले पार्टीको सहयोगले कोरोना विरुद्ध स्वास्थ क्षेत्रमा काम गरिरहेको स्वास्थकर्मीहरुको मनोबल उच्च बनाउन मदत गर्नुका साथै कोरोना विरुद्धको अभियानमा आम मानिसहरुको दायित्व बोध गराउने बताउनुभयो । पार्टीले प्रदान गरेको उक्त पि.पि.ई.महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविस्कार केन्द्रले अन्तराष्ट्रिय मापदण्ड अनुरुप तयार पारेको हो ।

पार्टीले भैरहवा स्थित भीम अस्पताल र देवदह मेडिकल कलेजलाई पनि सेनिटाइजर, मास्क र ग्लोभ्स सहयोग गरेको पार्टीका रुपन्देही जिल्ला अध्यक्ष प्रेम बहादुर थापाले जानकारी दिनुभयो । यसैबीच लकडाउनका समयमा सुरक्षामा खटिने प्रहरीहरुको स्वास्थ सुरक्षाका लागि पनि जनमुक्ति पार्टीले मास्क, सेनिटाईजर र ग्लोभ्स वितरण गरेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश र जिल्लाले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवल र मंगलापुर प्रहरी चौकी मार्फत उक्त सामग्री वितरण गरेको राष्ट्रिय जनमुक्ति पार्टीका तिलोत्तमा नगर अध्यक्ष एवं जनप्रतिनिधि भोम बहादुर बुढाले जानकारी दिनुभयो ।

यसैबीच पार्टीले पाल्पा लिल्ला अस्पताललाई पनि पि.पि.ई. उपलब्ध गराएको छ । पार्टीका उपमहासचिव टोप अस्लामी, कोषाध्यक्ष डब गर्बुजा लगायतका नेताहरुले उक्त पि.पि ई. अस्पताललाई हस्तान्तरण गरेको जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*