सबैको सहकार्यबाट कोरोना विरुद्धको लडाई जित्न संभव -मुख्यमन्त्री शंकर पोखरेल

खबरपथ संवाददाता
२९ चैत्र २०७६, शनिबार २१:१४

बुटवल । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका काम र आगामी योजना बारे माननीय मुख्यमन्त्री शंकर पोखरेलले सर्वदलीय बैठक राखेर जानकारी गराउनुभयो ।
उहाँले तीन तहका सरकारले अहिलेसम्म गरेका काम र योजनाबारे जानकारी गराउँदै सबैको सहकार्य र सहयोगबाट नै कोरोना विरुद्धको लडाई जित्न सकिने बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले बाँके, दाङ, बुटवल र भैरहवामा चार वटा आइसियु सहितको कोरोना विशेष अस्पताल तयार गरी उपचार शुरु गरेको बताउनुभयो । त्यसैगरी भैरहवामा प्रदेश प्रयोगशालामा कोरोना भाइरसको परिक्षण भइरहेको केही दिनमै नेपालगञ्जमा पनि परिक्षण हुने र दाङमा पनि पिसिआर मेशिन ल्याउन प्रक्रिया अघि बढेकोले छिट्टै हुने बताउनुभयो ।
उहाँले नेपाल भारत सीमा क्षेत्रमा कडाई गरिएको र सशस्त्र प्रहरी बलको आवश्यक संख्या थप गरी परिचालन गरिएको बताउनुभयो ।
स्थानीय तहहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन र क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको बताउनुभयो ।
कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै एकताबद्ध भई कोरोना विरुद्धको लडाईमा लाग्न आग्रह गर्नुभयो ।
सर्बदलीय बैठकमा प्रदेशसभा नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, संसदीय समितिका सभापति दधिराम न्यौपाने, हरि रिजाल, कांग्रेस सचेतक निर्मला क्षेत्री, प्रदेश सभा सदस्य फकरुद्दीन खान, विजय जयसवाल, समाजवादी फोरमका प्रदेश सभा सदस्य सन्तोष पाण्डे र राजमो प्रदेशसभा सदस्य तारा जिसी सहभागी हुनुहुन्थ्यो । बैठकमा सहभागीहरुले कोरोना विरुद्धको लडाई सरकारको मात्रै नभएर सबैको साझा भएकाले सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*