मुख्यमन्त्रीद्धारा श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश

खबरपथ संवाददाता
१९ बैशाख २०७७, शुक्रबार ०९:३१

बुटवल। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलद्धारा अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवीहरुकालाई शुभकामना सन्देश ब्यक्त गर्नुु भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलद्धारा ब्यक्त शुभकामना सन्देश

अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवी दाजुभाइ दिदीबहिनीलाई म हार्दिक शुमकामना व्यक्त गर्दछु ।
नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयका दृष्टिकोणले हेर्ने सामाजिक मान्यता रह्यो । कतिपय श्रमका क्षेत्रहरुमा नेपाली श्रमशक्तिको सहभागिता समेत देखिदैन । जसवाट वर्षेनी अरवौको पूँजी रेमिट्यान्सका रुपमा पलायन भइरहेको छ । श्रम शक्तिको विकासवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव छ । श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्न हामी दृढ संकल्पित छौं ।
ऐतिहासिक संविधानसभावाट संविधान जारी भएपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको छ । तीनै तहका जननिर्वाचित सरकार नागरिकका आकांक्षा पूरा गर्न क्रियाशिल छन् । विकास र समृद्धिको नागरिकको आकांक्षा पुरा गर्न श्रमशक्तिलाई अर्थतन्त्र र मुलुकको पूर्वाधार विकासमा लगाउनु अनिवार्य छ ।

मुलुकमा आजको यो परिस्थिति २००७, २०४६ र २०६२।०६३ मा भएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलतावाट निर्माण भएको हो । उक्त आन्दोलनमा नेपाली श्रमिकवर्गको सहभागिता र बलिदान अविस्मरणीय छ । नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक र समाजवादउन्मुख राज्यव्यवस्थाको स्थापना गरेको छ । संविधानले व्यवस्था गरेको समाजवादउन्मुख राज्यव्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित छ । श्रमिकवर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको छ । यो कार्यक्रम व्यवहारिक रुपमा कार्यान्वयन हुँदै श्रमिक वर्गको हित र सम्मान स्थापित हुनेछ ।
यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन सरकारले मुलुकलाई लकडाउनमा राख्ने बेलैमा निर्णय गरेकाले समुदायमा संक्रमण बढेको छैन् । कोरोना विरुद्धको संघर्षमा तीन तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । राजनीतिक,प्रशासनिक र सुरक्षा निकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको छ ।
अहिलेसम्म हामी सुरक्षित छाँैं तर जोखिमबाट मुक्त छैनाँैं, कोरोनाविरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छाँैं । लकडाउन लामो हुँदा दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्नेहरुले कठिनाइ व्यहोर्नु परेको हामीले बुझेका छौं । यो कठीन समयमा कोही नागरिक भोकै बस्न पर्ने अवस्था आउने छैन् । दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतको लागि आवश्यक प्रवन्ध मिलाइएको छ ।
म अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा श्रमशक्तिको विकासवाट नै समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न हार्दिक अपील गर्दछु । सम्पूर्ण श्रमजीवी वर्गमा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई १) को उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

शंकर पोखरेल

मुख्यमन्त्री

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*