भोजराज भट्टराई
२३ बैशाख २०७७, मंगलवार १९:४२

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले देशबाहिर रहने नागरिकको तथ्याङ्क सार्वजनिक गरेको छ । गाउँपालिकाले  सोमबार गाउँपालिकाभित्रका ३ हजार २ सय २४ जना नागरिक देशबाहिर रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

गाउँपालिका अध्यक्ष कृष्ण बस्यालका अनुसार साविकका वडामा रहेका ७८ जना महिला स्वयं सेवीका परिचालन गरी विदेशमा रहने नेपालीहरूको विवरण तयार पारिएको हो । ‘कोरोना संक्रमण शुरु भएदेखि बगनासकालीमा हाल ८५ जना विदेशमा रहेका नागरिक गाउँपालिकाभित्र आउनुभएको छ ।’ अध्यक्ष बस्यालले भन्नुभयो, ‘अहिले विदेशबाट आउनुभएका नागरिकहरूसँग छलफल चलाएर उहाँहरूको अपेक्षा अनुसार स्थानीय तहमै रोजगारी उपलब्ध गराउने गाउँपालिको योजना छ ।’ अध्यक्ष बस्यालले रोजगारी, भ्रमण, अध्ययन लगायतका कारण देशबाहिर रहेका नागरिक स्वदेश फर्कन चाहेको अस्वस्थामा सहयोग गर्न अपेक्षा अनुसार स्थानीय तहमा सम्भव हुने रोजगार सिर्जना गरी काममा लगाउन सहयोग पुगोस भन्ने उद्देश्यका साथ विवरण संकलन गरिएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीका अनुसार विवरण संकलनमा खटिने महिला स्वास्थ्य स्वयम सेवीकालाई जनही १ हजार ५ सय उपलब्ध गराइने छ । उहाँले कोभिड–१९ को संक्रमणका समयमा स्वास्थ्य स्वयंसेवीकालाई हाल अन्य काममा परिचालन नगरिएको र आवश्यक परेमा गाउँपालिकाले अन्य काममा समेत खटाउने जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले स्वयंसेवीकाहरूको सहयोगमा स्वास्थ्य शाखाले विवरण तयार गरी गाउँपालिकालाई उपलब्ध गराएको जानकारी दिनुभयो । ‘स्वयंसेवीकाहरूले चार–पाँचदिन लगाएर तयार गरेको विवरणमा महिला ३३२ र पुरुष २८९२ गरी गाउँपालिको ९ वटा वडामा जम्मा ३२२४ नागरिकहरू देशबाहिर रहनुभएको छ ।’ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं. १ चिर्तुङ्धारामा महिला ५८ र पुरुष ५९५ गरी ६५३ जना, वडा नं. २ पोखराथोकमा महिला ४१ र पुरुष २५१ गरी २९२, वडा नं. ३ नायरनमतलेसमा महिला २८ र पुरुष २७३ गरी ३०१ जना नागरिक देशबाहिर रहेका छन् ।

यस्तैगरी वडा नं. ४ खानीछापमा महिला ९ र पुरष २४२ गरी २५१ जना, वडा नं. ५ दर्लमडाडाँमा महिला ६८ र पुरुष २९५ गरी ३६३ जना, वडा नं. ६ यम्घामा महिला ३४ र पुरुष ४५२ गरी ४८६ जना नागरिक देशबाहिर छन् । यस्तै वडा नं. ७ खानीगाउँमा महिला ४४ र पुरुष २८२ गरी ३२६ जना, वडा नं. ८ बराङ्दीमा महिला १० र पुरुष १५७ जनागरी जम्मा ३८५ जना र वडा नं. ९ चापपानीमा महिला ४० र पुरुष ३४५ जना गरी ३८५ जना नागरिकहरू देशबाहिर रहेका छन् ।

यसैबीच गाउँपालिकाभित्र रहेका ६११ कम आयस्रोत भएका र कोभिड–१९ को संक्रमणका कारण जारी बन्दले काम गर्न नपाई दैनिकी सञ्चालनमा अफ्ठेरो परेका परिवारलाई दोस्रो चरणको राहत वितरण कार्य समेत सकिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*