कर्णाली प्रदेशद्धारा किसानलाई हातेट्र्याक्टर हस्तान्तरण

रासस
२३ बैशाख २०७७, मंगलवार २२:३१

सुर्खेत ।  कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले किसानलाई हातेट्र्याक्टर हस्तान्तरण गनुभएको छ ।

कृषिमन्त्री केसीले मंगलबार सुर्खेत भेरीगङ्गा र गुर्भाकोट नगरपालिकाका किसानलाई ६० थान हातेट्र्याक्टरसहित आवश्यक कृषि सामग्री वितरण गर्नुभएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण भएको बन्दाबन्दीमा पनि कृषि कार्य रोक्न नहुने भन्दै किसानलाई कृषि सामग्री हस्तान्तरण गरिएको कृषिमन्त्री केसीले बताउनुभयो ।

“वास्तवमा अब हामी (विशेषगरी) कर्णालीवासी रोगले भन्दा पनि भोकले मर्ने सम्भावित जोखिम बढिरहेको छ”, उहाँले भन्नुभयो, “रोगसँगै भोकसँग लड्ने योजनाका साथ कृषि कर्ममा जुट्नु नै हाम्रा लागि हितकर छ ।” कृषि कर्म गर्दा भने भौतिक दूरी कायमका लागि नितान्त ख्याल गर्न किसानलाई मन्त्री केसीले आग्रह गर्नुभयो । उहाँले यो किसानको बाली लगाउने सिजन भएकाले लकडाउनको पालना गर्दै किसानका आवश्यकतालाई परिपूर्ति गरिएको भन्दै जतिसक्दो उत्पादन बढाउन र बाँझो जमिन उपयोगमा ल्याउनसमेत सबै सहकारी तथा किसानलाई अनुरोध गर्नुभयो ।

कृषि विकास निर्देशनालय कर्णाली प्रदेश निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले ५० प्रतिशत निर्देशनालयको अनुदान सहयोग र ५० प्रतिशत किसानको लागत सहभागितामा हातेट्र्याक्टर (मिनीट्रिलर) विभिन्न कृषक समूह र सहकारीलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । “लकडाउनमा किसान प्रभावित नहुन् भन्ने हेतुले यही अवधिमा हामी कृषि सामग्री हस्तान्तरण गरेका छौँ”, निर्देशक रोकायले भन्नुभयो ।

उहाँका अनुसार भेरीगङ्गा–४ सुर्खेतको हर्रेस्थित कालिका तरकारी पकेट, गुर्भाकोट नगरपालिका–७ सुर्खेतको मेहलकुनास्थित गङ्गामाला तरकारी ब्लक, वडा नं ९ चिसापानीस्थित माझखण्ड तरकारी पकेट, वडा नं ५ थग्लेनीस्थित प्रगतिशील तरकारी पकेट समितिलाई हातेट्र्याक्टर, प्लाष्टिक टनेल, स्प्रे, हजारी, पाइप, पानीट्याङ्की, बीउबिजन सहयोग गरिएको छ ।

कालिका तरकारी पकेट समितिका संयोजक हेमन्तप्रकाश ओलीले यान्त्रीकरणको सहायताले अब थोरै समयमा धेरै काम गर्न सकिने बताउनुभयो । ओलीले भन्नुभयो, “हिँजो गोरु र मान्छेले काम गर्दा ढिलो हुन्थ्यो । अब समयको पनि बचत हुनेछ । यसबाट उत्पादनमा समेत वृद्धि आउने आशा गरेका छौँ ।” निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोग र किसानको ५० प्रतिशत लागत सहभागिता गरी करिब रु ९० लाख बराबरको कृषि सामग्री तथा बीउबिजन किसानलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*