थप ६२ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित ३५७ पुग्यो

खबरपथ संवाददाता
५ जेष्ठ २०७७, सोमबार १९:३८

काठमाडौं । नेपालमा थप ६२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित ३५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गुल्मीमा पनि नयाँ कोरोना संक्रमित भेटिएको छ । भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालका ३१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

मन्त्रालयका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।

यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङकै एक जना पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोमबार बिहान ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट ८ र बारा जिल्लाका १ जना रहेका छन् ।

संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*