• ०९ कार्तिक २०८१, शुक्रबार
  • Friday 25th October 2024

    बुटवलको बजेट दुई अर्ब एक करोड

    खबरपथ संवाददाता
    १० असार २०७७, बुधबार १९:००

    बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि २ अर्ब एक करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जसमा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ । यो गत आवको भन्दा झण्डै ११ करोड बराबरले बढि हो ।

    संघ तथा प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान समेतलाई समावेश गर्दै गत वर्ष भन्दा करिब ११ करोड बढि रकमको बजेट प्रस्तुत गरिएको हो । बुटवल उपमहानगरले गत आवमा एक अर्ब ९० करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको थियो । प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा सोमबारदेखि जारी नगरसभाको सातौं अधिवेशनमा नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले आव ०७७/०७८ का लागि दुई अर्ब एक करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन् । यसपालीको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र रोजगारीलाई प्राथमिकतामा राखिएको छ ।

    बुटवलमा सञ्चालनमा रहेका राष्ट्रिय गौरव, प्रदेश गौरव र बुटवलको आफ्नै नगर गौरवका आयोजना र पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राख्दै अधुरा योजनालाई पहिले पूरा गरिने भएको छ । कोरोना महामारीले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र आर्थिक सामथ्र्य खुम्चिएकाले बुटवलको बजेटमा पनि त्यसको असर परेको बजेट भाषणमा बताइएको छ ।
    ‘उद्योग, व्यवसाय र लगानीमा गिरावट आएको छ । होटल, यातायात लगायतका कतिपय सेवा उद्योग व्यवसाय ठप्प प्रायः भएको छ । सिंगो समाज र अर्थतन्त्र पुर्नस्थापना र राहतको पर्खाईमा छन् । रोजगारी गुमेको छ रोजगारीका गन्तव्य फेरिन पुगेको छ ।

    नयाँ रोजगगारीका अवसर सिर्जना गर्दै कोभिड १९ लगायतका महामारी तथा विपदको सामना गर्दै, सामाजिक आर्थिक जनजीवनलाई सुरक्षित र सहज बनाउने, स्वास्थ्य शिक्षा र खाद्य सुरक्षालाई जोड दिदै रोजगारीका अवसर सृजना गरी स्थानीय सेवालाई प्रभावकारी बनाउनु नै आजको प्रमुख कार्यभार र दायित्व हामीसंग रहेको तथ्यलाई मैले बुझेको छु र आर्थिक वर्ष २०७७/०७८ को बजेट तर्जुमा गर्दा तिनै विषयलाई समेटने प्रयास गरिएको छ ।’ बजेट भाषणमा उल्लेख छ ।

    बजेटको मुख्य उद्देश्य सबल आर्थिक केन्द्र समुन्नत बुटवल निर्माण गर्दै ‘समृद्ध बुटवल : खुसी जनता’ रहेको उल्लेख छ । उपमहानगरको नीति तथा कार्यक्रम पारित भएसंगै यो आकारको बजेट प्रस्तुत भएको हो ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *