सैनामैनाको बजेट ७० करोड ८३ लाख ७७ हजार

खबरपथ संवाददाता
१० असार २०७७, बुधबार १९:४८

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उप्रमुख चित्रवहादुर कार्कीले देशैभरी कोभिड १९ को संक्रमण बढिरहेको बेला कोभिड नियन्त्रण लक्षित बजेट आएको बताउँनु भएको छ ।

एक समारोहवीच नगर उपप्रमुख बिना रानाले बुधवार बजेट  सार्वजनिक गर्नुभयो । जस अनुसार कुल विनियोजित बजेट मध्ये चालू खर्चमा तलब, भत्ता तथा अन्य सुविधा, कार्यालय सञ्चालन लगायत प्रशासनिक खर्च र अन्य व्यवस्थापन समेतको लागि ४५ करोड ९४ लाख ८७ हजार ५ सय ४६ विनियोजन भएको छ भने पूँजीगत खर्च तर्फ कुल २४ करोड ८४ लाख ७ हजार विनियोजन गरिएको छ ।
उक्त बजेट गत वर्षभन्दा करिव २० करोडले कमी हो । गत वर्ष नगर प्रमुख कार्कीले ९१ करोड बढीको बजेट प्रस्तुत गर्नुभएको थियो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त अनुदान रु ५६ करोड ९२ लाख ८७ हजार २ रुपैया, प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड ५७ लाख, आन्तरीक स्रोतबाट १३ करोड ३१ लाख ९० हजार ५ सय ४४ आयको अनुमान गरिएको छ ।

त्यसैगरी बजेटमा नगरपालिकाको नगर गुरुयोजना तुर्जमा गरी नगरको अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन विकासका लक्ष्यहरु निर्धारण गर्ने नीति लिइए अुनुरुप गुरुयोजना निर्माणको कार्य अन्तिम चरणमा छ । गुरुयोजनाले समेट्न नसकेका नगर यातायात गुरुयोजना, नगर पाश्र्वचित्र, स्थानीय तहको सूचनाप्रणाली र भू–उपयोग योजना समेत तयार भइसकेको उल्लेख छ ।

नगर प्रमुख कार्कीले वडा नं ११ को कञ्चन पुलको निर्माण सम्पन्न भएको, संघीय निर्वाचन क्षेत्र नं २ र ३ जोडने कर्साघाट पुललाई निरन्तरता दिइएको, त्यसैगरी नगरको गौरवको रुपमा रहेको सैनामैना चक्रपथ क्षेत्रको ५० प्रतिशत सडक स्तरउन्नति सम्पन्न भइसकेको बजेटमा उल्लेख गर्नुभएको छ ।
त्यसैगरी एकिकृत उद्योग विकास गर्ने हेतुले सैनामैना ७ स्थित लम्टैयामा निर्माणधिन औद्योगिक ग्रामको प्रथम चरणको कार्य यसै आ. मा सम्पन्न हुने क्रममा रहेको, वडा नं २ स्थित बोलबम पर्यावरणीय पार्क, वडा नं ६ स्थित मलमला पर्यटकीय क्षेत्रको डि पि आर  तयार भइसकेको छ भने वडा नं ९ स्थित बालउद्यान, वडा नं  १० स्थित पूलवारी पार्क, पानबारी पार्क र वडा नं ११ स्थित राजापानीको जलाधार संरक्षण क्षेत्रको डिपिआर निर्माणको कार्य सम्पन्न भइसकेको बजेटमा उल्लेख छ ।
त्यसैगरी चालु आ व  मा एकीकृत कृषि बजार प्रबन्ध गर्ने लक्ष्य सहित मुर्गिया साप्ताहिक हाटबजारमा ५१ वटा सेड र शान्तिटोल नमुनावस्ती साप्ताहिक हाटबजारमा ५४ वटा सेडको निर्माण कार्य यसै आ व मा सम्पन्न हुने अवस्थामा रहेको बजेटमा उल्लेख छ ।
थारु समुदायको संस्कृतिको संरक्षण गरी पर्यटन प्रवर्धनको लागि सैनामैना वडा नं २ मा सभाहल निर्माण कार्य सम्पन्न भईसकेकोमा यस वर्ष सभाहल र पाहुना घर निर्माण सम्पन्न भई सञ्चालन हुने अवस्थामा पुगेको तथा चालु आ।व। मा पशु सेवा तर्फ ३९ वटा गोठ सुधारका कार्य सम्पन्न भएको बजेटमा उल्लेख छ ।
स्थायी रुपमा फोहोरमैला व्यवस्थापन गर्नको लागि सैनामैना वडा नं  १० को एक्ला पहाडमा ३ वटा स्थानीय तहको फोहोमैला व्यवस्थापन गर्न चालु आ व मा ४ करोड लागतमा उक्त साईट छेउको नदी तटबन्ध तथा बायो ईन्जिनियरीङ्ग कार्य भईरहेको बजेटमा उल्लेख गरिएको छ ।
त्यसैगरी नगरपालिका भित्रै सञ्चालनमा रहेका सामुदायिक क्वारेन्टिन संख्या ५ र आईसोलेसन कक्ष संख्या १ को क्षमता विस्तार गर्नको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
बजेटमा आयुर्वेदिक र प्राकृतिक चिकित्सा प्रणालीको विस्तार र प्रवद्र्धन गरिने, नागरिकहरुलाई योगाभ्यास र शारीरिक व्यायमसहितको जीवनपद्धति अपनाउन प्रेरित गर्न पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयमा व्यायमशाला तथा योग केन्द्र स्थापना गर्न भारतीय दुतावासको सहकार्यमा २ करोड ८० लाख बजेटको व्यवस्थापन गरिएको छ ।
बजेटमा विद्यार्थी, शिक्षक र समुदायमा सकारात्मक सोचको विकास गर्न नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा कम्तिमा ७ दिनको योग शिविर र आर्ट अफ लिभिङको आधारभूत कक्षा कार्यक्रम सञ्चालन गर्न १८ लाख विनियोजन भएको छ ।
त्यसैगरी स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रम अनुरुप यस नगरपालिकाको वडा नं ४ मुर्गियामा सुविधा सम्पन्न शैयाको अस्पतालको निर्माण गर्ने, सुत्केरी महिलाहरुलाई स्वास्थ्य चौकीमा नियमित चेकजाँच गरी प्रसुति समेत स्वाथ्य चौकीमा गराउन प्रोत्साहित गर्न सुत्केरी पोषण कोशेली कार्यक्रमको लागि ४ लाख विनियोजन गरिएको छ ।
आधारभूत स्वास्थ्य संस्था र २४ घण्टे प्रसुती सेवा सञ्चालन र व्यवस्थापनको लागि आवश्यक बजेटको विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
उता महिला स्वास्थ्य स्वयंसेविका र ८४ वर्ष उमेर पूरा गरेका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य वीमाको व्यवस्था मिलाएको छ भने हाल सञ्चालनमा रहेको शहरी स्वास्थ्य केन्द्रलाई व्यवस्थित गर्नको लागि पनि बजेट विनियोजन भएको छ ।
विद्यमान कोरोना भाईरसको महामारीबाट आम नगरबासीलाई सुरक्षित गर्नको लागि स्वास्थ्य तथा सरसफाईको क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ७ करोड ९ लाख ७३ हजार ६ सय विनियोजन गरिएको छ ।
नगर प्रमुख कार्कीले भूमी बैँकमार्फत प्रविधियुक्त कृषि, स्वरोजगारीमा बृद्धि, सैनामैनाको आर्थिक समृद्धि भन्ने अभियानलाई साकार पार्न भूमि बैंकको स्थापना गरि सामुहिक खेती, करार खेती र व्यवसायिक खेती गर्ने प्रबन्ध मिलाईने बताउनु भएको छ ।

त्यसैगरी शुन्य उपयोगबिहिन भूमिको नीति अवलम्बन गर्दै सडक छेउ, नदि, खोला किनारको जग्गा र उपयोग विहिन सार्वजनिक जग्गामा टोल विकास संस्था मार्फत आफ्नो टोलमा फलफूल लगायतका नगदे बालीको विरुवा रोप्ने र त्यसरी रोपिएका विरुवाको उत्पादनको हकभोग समेत टोल विकास संस्थाले गर्ने व्यवस्था मिलाउदै समग्र टोल विकास संस्थालाई अनुदान स्वरुप रु।१७ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ ।
कोरोना भाईरसको कारण बैदेशिक रोजगारबाट घर फर्किएका बेरोजगार युवालाई कृषि तथा पशुपंक्षी व्यवसायमा आबद्ध गर्न विविध कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

बैक तथा वित्तिय संस्थासंग समन्वय गरी बैदेशिक रोजगारबाट घर फर्किएका बेरोजगार युवा र कृषि तथा पशु उद्यमी व्यवसायीमध्ये १६५ जना सामुहिक वा निजी व्यवसायीलाई प्राथमिकताको आधारमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई श्रममा आधारित न्यूनतम रोजगारीमा संलग्न गराउने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ । त्यसैगरी बजेटमा साना कृषि औजार तथा यन्त्र उपकरण, कोभिड प्रभावित भई गाँउ फर्केका कृषि व्यवसाय गर्ने उद्यमीहरुलाई उत्पादन सामाग्री उपलब्ध गराउने तथा एक स्थानिय तह एक उत्पादन कार्यक्रम र नगरपालिका स्तरिय कोशेली घर लगाएतका अन्य कार्यक्रमहरु सञ्चालनको लागि ६८ लाख ५० हजार बजेटको व्यवस्था भएको छ ।

एकिकृत भई आएका सहकारीमार्फत बेरोजगार युवा तथा महिलालाई आत्मनिर्भर बनाउन यूयनडिपिको सहकार्यमा नगरपालिकाको तर्फबाट १ करोड विनियोजन गरिएको छ ।
मुर्गिया हाटबजारमा १ हजार मेट्रिक टन क्षमताको शित भण्डार निर्माण गर्न व्यवस्था मिलाएको मिलाएको बजेटमा उल्लेख छ । त्यसैगरी सामाजिक सुरक्षा तथा संरक्षण कायम गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सूचिकृत भएका बेरोजगार व्याक्तिहरुलाई श्रममा आधारित न्यूनतम रोजगारीमा संलग्न गराउन संघीय सरकारमार्फत ५१ लाख ७० हजार बजेटको व्यवस्थापन गरिएको छ ।

कोभिड १९ को महामारीका कारण शिक्षण सिकाइ क्रियाकलापवाट बन्चित हुन पुगेका वालवालिकाहरुलाई बैकल्पिक प्रणालीवाट सिकाइ सहजीकरण गर्ने व्यवस्थाका लागि ८ लाख विनियोजन गरिएको छ भने कक्षा कोठामा गरिने शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगलाई निरन्तरता दिदै प्रविधिमैत्री शिक्षकवाट अन्य शिक्षकमा सिप हस्तान्तरण गर्ने व्यवस्थाका लागि ६ लाख ४० हजार विनियोजन गरेको बजेटमा उल्लेख छ ।

बजेटमा हाल सञ्चालन गरिदै आएको क्षमता विकास तथा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिदै विधवा तथा एकल महिला, द्वन्द्वपीडित महिला, बेरोजगार तथा अति पिछडिएका र बिपन्न समुदायको लागि रोजगारमूलक तालिमको व्यवस्थापन तथा महिलाहरुको सशक्तिकरण गर्न महिलासँग उपप्रमुख कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी सैनामैना नगरपालिका वडा नं  ८ मा लुम्बिनी सांस्कृतिक शहर निर्माण गर्नको लागि ५० लाख विनियोजन गरिएको छ भने पश्चिमको पशुपतिनाथ भनेर चिनिने धार्मिक आस्थाको केन्द्रविन्दु पर्रोहा परमेश्वर बोलबमधाम मन्दिरको पूननिर्माणको लागि संघ, प्रदेश र सैनामैना नगरपालिकाको स्रोतबाट ६० लाख बजेटको व्यवस्था गरिएको छ ।
सैनामैना नगरपालिका वडा नं  २ मा निर्मित थारु होमस्टेको सभाहल र पाहुना घर औपचारिक रुपमा सञ्चालनमा ल्याइने, राष्ट्रिय स्वतन्त्रता, सामाजिक न्याय र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने शहिदहरुको सम्झनामा शहिद दिवस र राष्ट्रियता, लोकतन्त्र र जनजिविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मानको लागि वि।पि स्मृती दिवस र पुष्पलाल स्मृती दिवसको दिन सिर्जनात्मक कार्यक्रमको आयोजना गरि मनाउन रु  ३ लाख विनियोजन गरिएको छ ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” अभियानलाई सार्थक बनाउन पशुपति मा।वि मा खेलमैदान तारबार, महरेहवा देवि आधारभुत विद्यालयमा खेलमैदान स्तरोन्नति तथा सैनामैना ४ मुर्गियामा फुटबल स्टेडियम स्तरन्नोतिको लागि कुल ५५ लाख विनियोजन गरिएको छ ।

संघीय सरकारमार्फत विनियोजित १ करोड १० लाख बाट वडा नं ७ लमटैयामा प्रारम्भ गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको डिपिआर बनाई पूर्वाधार निर्माणको कार्य सुरुवात गर्ने तथा युवाहरुलाई खेलकुद तर्फ प्रोत्साहित गर्न शुरु गरिएको नगरस्तरीय मेयर कप र नगरस्तरीय खेल सप्ताहलाई निरन्तरता दिन १८ लाख विनियोजन गरिएको छ ।
संघीय सरकारको साबिक राष्ट्रिय प्राथमिकता प्राप्त योजना र प्रदेश सरकारबाट कार्यन्वयन भइरहेको सैनामैना नगरपालिकाको गौरवको रुपमा रहेको सैनामैना चक्रपथमा पर्ने बाकि पुलहरुको निर्माण गर्न, सैनामैना चक्रपथको न्यूनतम २० किलोमिटर सडक कालोपत्रे गर्न र बाँकी रहेको सम्पूर्ण सडक खण्डमा सबबेस गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।

भारतीय राजदुतावासको साझेदारीमा रामापुर क्याम्पसको पूर्वाधार निर्माणको लागि ५ करोड ११ लाख विनियोजन भएको छ ।
त्यसैगरी तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत विपन्न तथा गरिब व्यक्तिहरुको एकीकृत आवास निर्माणको निरन्तरताका लागि ५५ लाख बजेटको व्यवस्था गरिएको छ । प्रदेश सरकारको बहुवर्षीय योजनाको रुपमा रहेको वडा नं ९ मा अत्याधुनिक यात्रु प्रतिक्षालय सहितको रिफ्रेस सेन्टर निर्माण गर्न १४ करोड बजेटको व्यवस्था गरिएको छ ।
बजेटमा भूमि सम्बन्धी समस्या समाधान आयोग नीति अनुरुप नगरपालिकाभित्र रहेका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको पहिचान र लगत संकलन भैसकेको र भूमि सम्बन्धी समस्या समाधान आयोगले पहिचान र प्रमाणिकरण गरेको भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको घर जग्गा नापजाँच, नक्शा स्रेस्ता तयार गरी जग्गाधनी प्रमाणपूर्जा वितरण गर्नका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको बजेटमा उल्लेख छ ।
विद्यमान कोरोना महामारीको रोकथाम तथा नियन्त्रण गर्दै कोरोना महामारीबाट असर परेका सैनामैनाबासिको जनजिविका सहज बनाउनको लागी स्वास्थ्य र खाद्य सुरक्षा कायम गरी क्वारेन्टीन र आइसोलेसन व्यवस्थापन गर्न कोरोना नियन्त्रण कोषमा १ करोड विनियोजन गरिएको बजेटमा छ ।
कोरोना भाईरस महामारीको कारण लकडाउनको अवधिभर सञ्चालन हुन नसकेका व्यवसायहरुलाई राहत स्वरुप लकडाउन अवधिभरको घर बहाल कर र व्यवसाय करमा शतप्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
त्यसैगरी बजेटमा सैनामैना नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने जेष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख आदिवासी जनजाति, लगायतका लक्षित वर्गहरुलाई नेपाल सरकारले निर्धारण गरेको नीति भित्र रही बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको पनि बजेटमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*