ज्ञानको पर्व गुरु पूर्णिमा -ज्यो. चक्रपाणी डुम्रे( शास्त्री)

खबरपथ संवाददाता
२१ असार २०७७, आईतवार ११:३०

बुटवल । प्रत्येक आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइन्छ। समाजमा रहेका हरेक मानिसलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउने मानवरूपी देवता नै गुरु हुन् । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । महाज्ञानी महाभारतका प्रणेता अनेक पुराणहरूका प्रवक्ता अनि ज्ञानका प्रचारक वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

 

संस्कृतमा भनिएको छः “गुरु र्व्रह्मा गुरु र्विष्णु गुरुर्देवो महेश्वर। गुरु: साक्षात्प रम्ब्रह्मा तस्मै श्री गुरुवे नमः।” प्रस्तुत श्लोकले गुरुको महत्वलाई स्पष्ट गर्दै भनेको छ -“गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भने कै भगवान शंकर हुन्, गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलार्इ म नमस्कार गर्दछु ।” वैदिक कालदेखिनै गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो दिन गुरूप्रति शिष्यले सम्मान प्रकट गर्ने महत्वपूर्ण दिन पनि हो ।

यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन समेत रहेको छ। तसर्थ वैदिक सनातन धर्मले मातापिता र गुरु सेवालाई नै परम धर्म र अन्यलाई उपधर्म मानेको छ । संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । यसबाट पनि अन्धकाररूपी अज्ञानताबाट प्रकाशरूपी उज्यालोका लागि मार्ग निर्देश गर्ने व्यक्ति नै गुरु भन्ने बुझाउँछ । गुरु भनेको ज्योति हो , पारसमणी हो जसको स्पर्शले फलाम पनि सुनमा परिणत हुन्छ। समजमा विद्यमान अज्ञानि र मुर्ख ब्यक्ति पनि ज्ञानवान,कुशल र इमान्दार बनेको इतिहास छ।

 

पैराणिक ग्रन्थका आधारमा पनि सम्पुर्ण देवताका आदिगुरू नरायण ( विष्णु ) हुन् भनिएको पाइन्छ । त्यसैगरी रामजस्ता ज्ञानी र आदर्श पुरूषले पनि वशिष्ठ लाई आफ्नो गुरु बनाएका थिए । त्यसै गरि पण्डवहरूले आफू बनवास जादा कहिल्यै गुरूको अभाव नहोस् भनेर नै उनिहरूले धौम्यऋषिलाई गुरु बनाएका थिए । अर्जुनले पनि भगवान श्रीकृष्णलाई गुरु बनाएर युद्धमा विजय प्राप्त गरेका थिए ।
समग्रमा गुरु भनेको अज्ञानरूपी अन्धकारलाई मेटाउने ज्ञानको ज्योति वा प्रकाश छर्ने दीप हो । गुरु बिना समाजमा कुनै पनि ज्ञान र सीपलाई प्राप्त गर्न गार्हो पर्दछ ।
हरेक गाउँ , समाज र रास्ट्रलाई दक्ष,अनुशासित र लगनशील ब्यक्तिको खाचो पर्दछ । अनि त्यस्ता व्यक्तिहरू उत्पादन गरि उनिहरूलाई मार्ग निर्देशन गर्ने आदर्श ब्यक्ति हो गुरु । त्येसैले पनि समाजमा त्यस्ता आदर्श ब्यक्ति गुरूजनहरू प्रती श्रद्धाभाव अभिव्यक्त गर्ने दिन पनि रहेकाले अषाढ शुक्ल पूर्णिमालाई रूपमा स्वीकार गर्दै मनाउने परम्परा रहेको हो। यसलाई ज्ञानको पर्व पनि मान्न सकिन्छ
। तसर्थ गुरु पूर्णिमालाई राष्ट्रिय महत्त्व बोकेको धार्मिक पर्व हो भन्दा पनि अत्युक्ति नहोला ।  अस्तु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*