आज हिन्दुनारीहरुको महानचाड हरितालिका तिज मनाईदै

खबरपथ संवाददाता
५ भाद्र २०७७, शुक्रबार १२:४९

काठमाडौं । हिन्दुनारीहरुको महान चाड हरितालिका तिज आज महादेवको पूजा आरधना गरी मनाईदैछ । भाद्र शुक्ल तृतियाका दिन मनाईने यस चाडमा नारीहरु निराहार ब्रत बसी शिव पार्वतीकोे पूजा आरधना गर्ने र नाचगान गर्ने चलन छ । यसरी निराहार ब्रत बसी शिवको आरधना गरेमा सुख शान्ति र परिवारको कल्याण हुने धार्मिक बिश्वास रहेको छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रतबसी पार्वतीले महादेव स्वामी पाउनुभएकोले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो।
‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ’, उहाँले भन्नु भयो । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उहाँले जानकारी दिनु भयो ।
यस बर्ष कोरोना भाइरस जोखिमकाकारण सामुहिक भेलामा प्रशासनले रोक लगाएको छ । कोरोनाका कारण शिवमन्दिरहरु बन्द गरिएका छन् । आ– आफनै घरमा पूजाआरधना र नाचगान गरी पारिवारीक तिज मनाउन आग्रह गरिएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गर्नुभएको छ ।
“यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका हुन्छन् भन्ने मेरो विश्वास छ”, सन्देशमा भनिएको छ, “हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक छ ।”
राष्ट्रपति भण्डारीले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक र जातीय विभेद लगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभएको छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि प्रसाद सापकोटासलगायतले तीजको शुभकामना दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*