पाल्पामा शुक्रबार राती १२ बजेबाट निषेधाज्ञा

भोजराज भट्टराई
५ भाद्र २०७७, शुक्रबार १३:४०

पाल्पा । जिल्लाभर लागुहुने गरी पाल्पामा शुक्रबार राती देखि १२ बजेदेखि निषेधाज्ञा जारी हुने भएको छ ।
सरकारले प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरस संक्रमणको जोखिम हेरेर जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सकिने अधिकार दिएपछि पाल्पामा पनि भोलि राती १२ बजेबाट निषेधाज्ञा जारी गरिएको हो ।

विहिबार सुरक्षा संयन्त्रसहित सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा जारी सूचनामा जनाइएको छ । कोभिड–१९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको कार्य प्रभावकारी बनाउन संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम मिति २०७७।०५।०५ गते राती १२ः०० बजेदेखि २०७७।०५।१२ बजेसम्म पाल्पा जिल्लाभरी लागु हुनेगरी निषेधाज्ञा गरिएको छ । प्रमुख जिल्ला अधिकारीद्वारा जारी निषेधाज्ञा आदेशमा भनिएको छ ।

निषेधाज्ञा अवधिभर सार्वजनिक यातायात, निजी सवारी साधन चलाउने नपाइने जनाइएको छ । एम्बुलेन्स, शवबहान, खाद्यसामग्री बहाक सवारी साधन, औषधि बोकेको सवारी साधन, कुखुराको चल्ला, पशुपंक्षीको दाना बोकेका सवारी साधन, पानी, दूध, पेट्रोल ट्यांकर, फलफूल तथा तरकारी बोकेको सवारी साधन, झण्डाबहाक सवारी साधन, कुटनीतिक नियोगको सवारी साधन भने चलाउन पाइने जनाइएको छ ।

यस्तैगरी निषेधाज्ञा अवधिभर अत्यावश्यक सरकारी सेवा, स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, एटीएम काउन्टर लगायतका सेवा सुचारु हुने र अत्यावश्यक बाहेकका नियमित सेवा, बैंक तथा वित्तिय संस्था प्रवाह हुने बाह्य सेवाहरु र सामाजिक संघ संस्थाहरू नखुल्ने जनाइएको छ । यस्तैगरी औषधी तथा औषधीजन्य पसल र पेट्रोल पम्प, ग्यास डिपो निषेधाज्ञाका समयमा खुल्नेछन् । खाद्यान्न सम्बन्धी पसल, फलफूल तरकारी दूध डेरी पसल बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने जनाइएको छ । निधेधाज्ञा अवधिभर होटल तथा रेष्टुरेण्ट, व्युटी पार्लर, कपडा पसल, सैलुन, जिमखाना, हार्डवेयर पसल, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, उद्योग कलकारखना खुल्ने छैनन् । जारी आदेशमा आदेशको अवज्ञा गरेको, गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाइएको छ ।

संक्रामक रोग ऐन २०२० अनुसार सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीले जिल्ला वा जिल्लाको सीमित क्षेत्रमा मात्रै लागु हुनेगरी निषेधाज्ञा गर्ने अधिकार पाउने छन् । यस्तै स्थानीय प्रशासन ऐन २०२८ अनुसार सरकारले निषेधाज्ञा जारी गरेमा सरकारी कार्यालयमा न्यूनतम कर्मचारी सहित कार्यालय चलाउने, अरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*