नेपालभर ७१ जना पत्रकारमा कोरोना संक्रमण

स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघको अपिल
खबरपथ संवाददाता
१२ भाद्र २०७७, शुक्रबार १९:५४

काठमाण्डौं । नेपालमा हालसम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मलुकका ७ प्रदेशमध्ये ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । जसमा केही पत्रकार महिलामा समेत सक्रमण देखिएको छ ।

जसअनुसार प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना रहेका छन् । त्यस्तै प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । जसमा पर्सा १३, बारा ४, धनुषा २, सप्तरी ३, सर्लाही ३, महोत्तरी १ र रौतहटमा १ जना रहेका छन् । बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित हुन पुगेका छन् । जसमा काठमाडौं ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन् । जसमा कास्कीका १ जना र नवलपुरका ७ जना रहेका छन् । प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । जसमा बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति हुन पुगेका छन् । त्यस्तै कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभएको छ ।

उहाँले संक्रमितमध्ये केही निको भइसकेका छन् केही उपचाररत अवस्थामा रहेको जानकारी दिनुभएको छ । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् । महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको बताउनुभएको छ ।

महासङ्घले महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न आम पत्रकार तथा सञ्चारकर्मीहरुमा अपिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*