गुल्मीमा हट्यो निषेधाज्ञा, जिल्ला प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य

खबरपथ संवाददाता
१३ भाद्र २०७७, शनिबार १२:०९

गुल्मी । गुल्मीमा शनिवारबाट निषेधाज्ञा हटाईएको छ । कोरोना सक्रमण समुदायस्तरमा बढेपछि गत भदौ ७ देखि १२ गते सम्म  जारी गरिएको निषेधआज्ञाको नयाँ मोडालिटी बनाइएको छ । कोरोना संक्रमणको जोखिम बढिरहेकाले जिल्लामा बिभिन्न व्यवसायहरु समय तालिका बनाएर खोलिने भएको छ । जिल्ला प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जुनसुकै ठाउँबाट जिल्ला प्रवेश गर्नेहरुले अनिवार्य पिसिआर रिपोर्ट ल्याउनु पर्ने र रिपोर्ट नभए १० दिन सम्बन्धीत पालिकाको क्वारेन्टीनमा बस्नुपर्ने गुल्मी प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

दुग्ध व्यवसाय बिहान ९ बजेदेखी ११ बजेसम्म, साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाउने छन् । तरकारी र फलफूल पसलहरु बिहान ७ देखि ९ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म संचालनमा आउने भएका छन् । अन्य पसल, उद्योग व्यववसाहरु बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला रहने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सैं घण्टा खुला रहने छन् । जिल्ला प्रवेश गर्ने सीमा नाकामा कडाई गरिने भएको छ । जिल्लामा भित्रिने सीमा नाकाहरु, रुरुक्षेत्र रिडी, रेसुङ्गाको नेटा, मदानेको सौतामारे, मुसिकोटको वामी कालिगण्डकीको पुर्तिघाट र लगायतका स्थानहरुमा २४ सै घण्टा सुरक्षा निकाय परिचालन गरिने भएको शर्माले जानकारी दिनुभयो ।

जिल्ला बाहिरबाट पसल तथा व्यवसायीक सामाग्री ढुवानी गर्दा चालक र सहचालकको पिसिआर रिपोर्ट चाहिने भएको छ । यदि पिसिआर रिपोर्ट नभए १० दिन क्वारेन्टीनमा बस्नुपर्ने निर्णय भएको छ । जिल्लामा लुकीछिपी आउने र क्वारेन्टिनबाट भाग्नेलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । कसैले जिल्ला प्रशासनको निर्णय अवज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*