बरिष्ठ गायक प्रेम राजा महत र धर्मपत्नी कविता महतको स्वास्थ्य लाभको कामना गर्दै कलाकारहरुले बनाए गीत

खबरपथ संवाददाता
१६ भाद्र २०७७, मंगलवार १९:२२

बुटवल ।  नेपाली लोक संगीत क्षेत्रका हस्ती रेडियो नेपालमा लोक गीत प्रबन्धकको जिम्मेवारी सम्हालिसकेका र हाल अमेरिकामा रही वाणिज्य दुत समेत रहिसकेका वरिष्ठ लोक गायक प्रेम राजा महत र धर्मपत्नी कविता महतलाई कोरोना भाइरस संक्रमित भएको खबर पाएपछि कलाकारहरुले मिलेर उहाँहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै गीत सार्वजनिक गरेका छन।
हाल उहाँहरुको स्वास्थ्यमा सुधार आइरहेको र छिट्टै पूर्ण रुपमा स्वस्थ र तन्दुरुस्त हुनुहुने बताइएको छ। यो गीत बनाउनुको उद्देश्य माथि प्रकाश पार्दै यस शुभकामना गीतको शब्द सिर्जना गर्नुभएका बैकुण्ठ रायमाझी भन्नुहुन्छ, “यो गीतले उहाँहरुलाई रोग विरुद्ध लड्न शक्ति वा आत्मबल प्रदान गर्नेछ भन्ने आशा लिएका छौँ। साथै अग्रज स्रष्टाहरुलाई सम्मान र माया प्रकट गर्ने नयाँ शैलीको विकास होस् भन्ने उद्देश्य पनि हो।”

उहाँ अगाडि थप्नुहुन्छ, “प्रेम राजा महत र नारायण रायमाझी दाजुहरुका गीतहरु सुन्दै हुर्किइयो। उहाँहरुका गीतहरु संगै कहिले रोइयो त कहिले नाचियो। बाल्यकाल देखि युवावस्था सम्म रेडियो नेपालबाट सुनिने उहाँहरुका गीतले मानौँ मोहनी नै लगाएको थियो। जुन अझै पनि मानसपटलमा सुरक्षित रहिरहेको छ। त्यसैले अग्रज स्रष्टा प्रति सम्मान र सद्भाव सहित यो शुभकामना गीत जन्मन सफल भएको हो।”

बैकुण्ठ रायमाझी थप्नुहुन्छ, “एकदिनको घटना अझै स्मृतिमा ताजै छ। म कतै जाँदै थिएँ,देउरालीमा पुगेर पसिना पुछ्दै गर्दा कालिका दिदीको घरमा आर्मीबाट ल्याएको रेडियोमा प्रेम राजा महत दाजुको ‘चिठी लेखे है, चिठी पढ्दा मायालाई लाग्छ देखे झैँ।।।’ गीत बजिरहेको थियो। दाजुको सुमधुर स्वरमा उक्त गीत सुन्दा थकान गायब नै भयो। त्यस दिनदेखि उहाँलाई भेट्न मन लाग्थ्यो तर त्यतिबेला उहाँसँग भेट हुने सम्भावना पनि थिएन। समय बित्दै जाँदा इन्टरनेटको सुविधाले गर्दा सम्पर्क स्थापित गर्न सहज भयो पछि उहाँ संग काठमाडौँमा प्रत्यक्ष भेट हुने अवसर पनि मिल्यो। एक प्रसंशकका लागि त्यो भन्दा ठुलो खुसी अरु के हुन्थ्यो। उक्त अवसरमा उहाँले दिनुभएको अडियो सिडी म संग अझै सुरक्षित छ। अटोग्राफमा लेख्नुभएको थियो, ‘बैकुण्ठ भाईको लागि’ त्यसमा उहाँका १२ वटा सुन्दर गीतहरु थिए ति गीतहरु रेस्टुरेन्टको कम्पुटरमा सुरक्षित गरेको छु। प्रायः उहाँका गीत सुनिरहन्छु। गीत सुन्दा उहाँ प्रतिको श्रद्धा, माया र सम्झना ताजा भएर आउछ।”

प्रेम राजा महत अमेरिकामा बस्नुहुन्छ। नेपालबाट कलाकारहरु र अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरु पनि अमेरिका पुगेपछि उहाँको घरमा नगई फर्केका सायद नहोलान्। अचम्मको कुरा त उहाँले आफ्नो घरमा नेपालको झल्को दिने मिनी नेपाल नै बनाउनु भएको छ।

रायमाझी भन्नुहुन्छ, “उहाँले अमेरिकामा नेपालको झल्को दिलाउने पँधेरो, पाटी, पौवा, बगैँचा र नेपाली रहनसहन र संस्कृतिको झल्को दिने विभिन्न दृश्यहरुका तस्वीर समय समयमा फेसबुक मार्फत देख्दा कतिबेला उहाँ पुगौँ जस्तो लाग्छ। बेलाबेलामा उहाँ संग कुरा हुँदा समय मिलाएर युरोप आउने निमन्त्रणा गरेको छु। उहाँले पनि अमेरिका आउन भनिरहनु हुन्छ।”

सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बैकुण्ठ रायमाझीद्धारा सिर्जित यस गीतमा लोकप्रिय कलाकार रामचन्द्र चन्द र कमला पोख्रेलको स्वर रहेको छ। वरिष्ठ लोक गायक नारायण रायमाझी सल्लाहकार हुनुहुन्छ।

अग्रज स्रष्टा प्रेम राजा महत प्रति समर्पित शुभकामना गीत
सल्लाहकार : नारायण रायमाझी
स्वरः रामचन्द्र चन्द र कमला पोख्रेल
शब्द र संगीतः बैकुण्ठ रायमाझी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*