काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जन सहित एक साता थप

खबरपथ संवाददाता
१७ भाद्र २०७७, बुधबार २०:२२

काठमाडौँ । काठमाण्डौं उपत्यकामा जारी निषेधआज्ञा परिमार्जन सहित थप एक साताको लागी थपिएको छ । बुधबार तिनवटै जिल्ला काठमाण्डौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयको परामर्शपछि जारी निषेधआज्ञा केही परिमार्जन सहित आगामी भदौ २४ गते सम्मका लागी थपेका छन् ।

अत्यावश्यक सेवा अन्तर्गतको औषधि पसल तथा विक्री वितरणलाई यथावत रूपमै सञ्चालन गर्न दिइने भएको छ ।
यस्तै अत्यावश्यक खाद्य वस्तु सेवाहरू तरकारी, फलफुल, माछामासु, दुध, दूधजन्य पदार्थ बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि यस्ता पसलहरू बिहान ९ बजेसम्म सञ्चालन गर्न दिइएको थियो ।

निषेधाज्ञाको समयमा यसअघि प्रतिबन्ध लगाइएको टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा भने खुला गरिएको छ । होम डेलिभरी सेवाको मापदण्ड भने जिल्ला प्रशासन कार्यालयले छिट्टै जारी गर्नेछन् । होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ र उनीहरुले भेटेका व्यक्तिहरुको अभिलेख राख्नुपर्नेछ ।
हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनलाई पनि चल्न दिनेछ ।
अब अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि पनि अनिवार्य गरिएको छ ।
यस्तै विकास निर्माणसँग सम्बन्धित पसल व्यवसाय र ढुवानीका साधन दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्न दिइने लगायतका निर्णय भएका छन् । तर यस्ता आयोजनाले कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टिनमा राख्नुपर्नेछ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा एक हप्ताको लागि निषेधाज्ञा लगाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*