निषेधाज्ञा पुनरावलोकनको लागि पाल्पामा आज बैठक

भोजराज भट्टराई
१९ भाद्र २०७७, शुक्रबार ०९:२०

पाल्पा । जारी निषेधाज्ञाको समीक्षा र पुनरावोलनको लागि पाल्पामा आज जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) बैठक बस्दैछ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार स्वास्थ्य सुरक्षा अपनाउँदै जनजीवन सहजीकरणका लागि जिल्लामा विभिन्न प्रतिक्रिया आएको र दोस्रोपटक थप गरिएको निषेधाज्ञाको समय आज देखि सकिने भएकोले १४ दिनसम्म जारी गरिएको निषेधाज्ञाको विष्लेषण, समीक्षा र पुनरावलोकनको लागि मध्यान्ह् १२ बजेपछि बैठक बस्न लागेको हो ।

‘आजको बैठकले निषेधाज्ञाको विषयमा नयाँ निष्कर्ष निल्काल्ने छ ।’ प्रमुख जिल्ला अधिकारी न्यौपानेले भन्नुभयो, ‘जिल्लाको तिनाउ, रम्भामा पछिल्लो समय समुदायस्तरमा कोरोना प्रभावको अवस्था देखिएको छ भने लामो समय निषेधाज्ञा पुनरावलोकनको लागि जिल्लामा विभिन्न प्रतिक्रिया आइरहेकोले बैठक बसेर छलफलसहित पुनरावलोकन गर्न सकिन्छ ।’

यसअघि भाद्र १२ गतेराति १२ बजेदेखि भाद्र १९ (आज) गते राति १२ बजेसम्मका लागि लागु हुनेगरी निषेधाज्ञा थप गरिएको थियो । त्यसअगाडि भाद्र ५ गतेदेखि १२ गतेसम्म पहिलो चरणको निषेधाज्ञा जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो । जिल्लामा समुदायस्तरमा ५ सहित संक्रमितको संख्या ५ सय ८१ पुगेको छ भने ५ सय ६१ जना निको भएर घर फर्किएका छन् । कोभिड संक्रमणका कारण जिल्लामा २ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*