ढोरपाटनलाई शाइन रेसुङ्गाको सहयोग

खबरपथ संवाददाता
२३ भाद्र २०७७, मंगलवार १३:२७

बुटवल । बाढी पहिरोको प्रकोपमा परेको बागलुङको ढोरपाटन नगरपालिकालाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आर्थिक सहयोग गरेको छ । बाढी पीडित परिवारको राहतका लागि बैंकले नगरपालिकाको दैवी प्रकोप उद्धार कोषमा एक लाख ५० हजार रुपैयां सहयोग गरेको हो ।

बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र बैंकको बुर्तिबाङ शाखा प्रबन्धक प्रेमनाथ पौडेलले सोमबार बुर्तिबाङमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई डेढ लाख रुपैयांको चेक प्रदान गरेका छन् । चेक बुझ्दै ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीले बाढीका कारण ३१ घर बगाएको र ७० बढी घरमा क्षति पु¥याएकाले नगरपालिकाकालाई सबैको सहयोगको खांचो रहेको बताए ।

बैंकका अध्यक्ष श्रेष्ठले बाढीपीडित परिवारको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकालाई आर्थिक सहयोग गरेको बताए । यसअघि बैंकले प्रदेश ५ सरकारको कोरोना राहत कोषमा २५ लाख ५० हजार सहयोग गरेको र प्युठानका स्थानीय तहमा पीपीई लगायत स्वास्थ्य सामग्री प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

गत बुधबार राति ढोरपाटन शिकार आरक्ष छेउको देउराली पहाड पहिरोले खसेर भुजी खोला थुनिएर फुटेपछि आएको बाढीले घरहरु बगाउंदा १४ जनाको मृत्यु भएको थियो भने अझै २४ जना वेपत्ता रहेका छन् । प्रदेश ५, गण्डकी र बागमती प्रदेशमा गरी बैंकका ७० वटा शाखा रहेका शाइन रेसुङ्गा प्रदेश ५ को एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*