बुटवल उद्योग बाणिज्य संघद्धारा बजार अनुगमन : स्वास्थ्य मापदण्ड पालना गर्न व्यबसायीलाई आग्रह

खबरपथ संवाददाता
२३ भाद्र २०७७, मंगलवार १८:५१

बुटवल । बुटवल उद्योग बाणिज्य संघले बुटवलको बजार अनुगमन गरेको छ । महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलाई खकुलो गरेपछि व्यबसायीले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको विषयमा बजार अनुगमन गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा अनुगमन टोलीका संयोजक उज्ज्वल कसजुले जानकारी गराउनुभयो ।

इलाका प्रहरी कार्यालय बुटवल र बुटवल उद्योग बाणिज्य संघले गरेको अनुगमनमा ९५ प्रतिशत व्यबसायीले सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गरेको पाईएको र स्वास्थ्य मापदण्ड पालना नगरेका व्यबसायीलाई मापदण्ड पालना गर्न आग्रह गरिएको संघका बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले बताउनुभयो । त्यस्तैगरी प्रशासनले नियमन गरेको मापदण्ड समेत पालना गर्न आग्रह गरिएको अनुगमन टोलीले जनाएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजुको नेतृत्वमा बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, कार्यसमिति सदस्यहरु बसन्त ढकाल, प्रकाशकुमार श्रेष्ठ र मुक्ति अधिकारी तथा ईलाका प्रहरी कार्यालय बुटवलका दुईजना प्रतिनीधि प्रहरी सहभागि भएको अनुगमन टोलीले बुटवलको अमरपथ, राममन्दिर लाईन, टाफिकचोक, जेसीजचोक हाटबजार, संगमपथ लगायतका स्थानमा अनुगमन गरेको थियो ।

कोरोना भाईरस संक्रमण फैलिन नदिनकालागि सरकारले लकडाउन गरेपछि उद्योग व्यबसाय धाराशायी भएको भन्दै रुपन्देहीमा रहेका ५ वटा उद्योग बाणिज्य संघले स्वास्थ्य मापदण्ड पालना गरि व्यबसाय सञ्चालन गर्ने गरि लकडाउनलाई खुकुलो बनाउन प्रशासनमा पैरवी गरिएको र सोही अनुसार व्यबसायीलाई स्वास्थ्य मापदण्ड पालना गराउने पनि संघकै दायित्व भएकाले बजार अनुगमन गर्नुका साथै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुपरेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो ।

नीजि क्षेत्रको सबैभन्दा पुरानो र ठूलो संस्था उद्योग बाणिज्य महासंघमा आवद्ध बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थ उद्योग बाणिज्य संघ, तिलोत्तमा उद्योग बाणिज्य संघ, देवदह उद्योग बाणिज्य संघ र सैनामैना उद्योग बाणिज्यसंघले करिव ६ महिनादेखिको लकडाउनका कारण उद्योग व्यबसाय ठप्प हुँदा उद्योग व्यबसाय धाराशायी हुनुका साथै मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले स्वास्थ्य मापदण्ड पालना गरि व्यापार व्यबसाय सञ्चालन गर्नेगरी लकडाउनलाई खुकुलो बनाउन प्रशासन तथा जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*