नागरिक लगानी कोषमा बचत राखेर पेन्सन पाइने

२ वर्षपछि मन लागे सबै पैसा झिक्न पाइने
खबरपथ संवाददाता
२४ भाद्र २०७७, बुधबार २०:४०

काठमाडौं । सबै नेपाली नागरिकलाई पेन्सन दिनेगरी नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ। सबै नेपालीलाई यो योजनामा समेट्नेगरी ल्याइएको कोषका प्रवक्ता उद्धव सिलवालले जानकारी दिए। कम्तिमा मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने उनले बताए। ‘न्यूनतम मासिक ५ सय बचत गर्नुपर्छ, त्योभन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्नेगरी योजनामा सहभागी हुन सकिन्छ’ उनले भने।

बचत गरेको रकमकै आधारमा सो व्यक्ति ६० वर्ष पुरा भएपछि पेन्सन प्राप्त गर्दछ। ‘नागरिकले यसरी जम्मा गरेको रकम कोषले विभिन्न क्षेत्रमा लगानी गर्नेछ, सो लगानीको प्रतिफल समेत जोडेर ६० वर्ष पुगेपछि पेन्सनका रुपमा दिइने छ’ सिलवालले भने। जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुनेछ। यदी कसैले बीचमा नै छाड्न चाहेमा सो व्यक्तिको बचत रकम र सो रकमबाट प्राप्त ब्याजसहित फिर्ता गरिने उनले बताए। तर यस योजनामा सहभागी भएको कम्तिमा २ वर्षसम्म भने छाड्न पाइने छैन।

कृषि गर्ने, मजदुरी गर्ने, आफ्नो जुनसुकै व्यवसाय भएका वा अरु कुनै पनि निजी क्षेत्रमा कार्यरत नेपाली नागरिक यस योजनामा सहभागी हुन सक्छन्। मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा पनि बचत गर्न सकिनेछ। तर बचत रकम मासिक कम्तिमा ५ सय हुनुपर्दछ। सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने र सो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्न सघाउ पुग्ने कोषले जनाएको छ ।

नागरिक लगानी कोष (व्यवस्थापन) विनियमावली, २०४८ को विनियम ३२ ले दिएको अधिकार प्रयोग गरी संचालक समितिले कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो।

पेन्सन पाउन योग्य हुने अवस्था 

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तिमा १५ वर्ष योगदान (बचत) गरेको हुनुपर्नेछ। बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन्।

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सनका रुपमा दिइने कोषले जनाएको छ। पेन्सन पाउन योग्य सहभागीले पेन्सन प्राप्त गर्न शुरु गरेपछि निजको मृत्यु भएमा मृतकको पति वा पत्नीलाई निजले पाइरहेको रकम बराबर नै पारिवारिक पेन्सन प्रदान गरिनेछ। तर, सहभागीसँग निजको अंशबण्डा भएको भए वा वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान हुने छैन।

त्यस्तै बचतकर्ताको पेन्सन पाउने उमेर सुरु भएपछि श्रीमान श्रीमती दुबैको मृत्यु भएमा सम्बन्धित व्यक्तिको नाममा कोषमा रहेको बचत रकम निजहरुको कानुनी हकदारलाई प्रदान गरिनेछ। कुनै बचतकर्ताको निवृत्तिभरण प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको नजिकको हकवालालाई निजले जम्मा गरेको रकम, त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ रुपमा प्रदान गरिने छ।

बचत रकम कसरी जम्मा गर्ने, के के चाहिन्छ कागजात?

सहभागी बचतकर्ताले जम्मा गर्नु पर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा विद्युतीय भुक्तानी मार्फत जम्मा गर्न सक्ने छन्। बचतकर्ताले बैंकमा रकम दाखिला गरेपछि सोको जानकारी कोषलाई दिनुपर्ने छ। कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपले उल्लेख गर्नुपर्ने छ।

यसका लागि व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी अनिवार्य चाहिन्छ। सो आधारमा कोषले बचतकर्तालाई अलग्गै परिचयपत्र बनाइदिनेछ।

सहभागीलाई ऋण सापटी तथा अन्य सुविधा समेत प्राप्त हुन्छ
कोषले योजनाका सहभागी बचतकर्तालाई निजको नाममा जम्मा रहेको रकममा बढीमा ८० प्रतिशतसम्म ऋण सापटी प्रदान गर्ने छ। यद्यपी यस्तो ऋण सुविधामा ऋण लिएको अवधिभर तोकिएको ब्याज भने तिर्नुपर्नेछ।

जुनसुकै कारणले बचतकर्ताको मुत्यु भएमा निजको अन्तिम संस्कारको लागि नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई दश हजार रुपैयाँ एकमुष्ठ उपलब्ध हुनेछ। बचतकर्ताले कोषद्वारा तोकिएका प्राइभेट अस्पतालमा औषधि उपचार गर्दा लाग्ने खर्चमा छुट सुविधा प्रदान गर्न सकिने छ।

दुर्घटनामा परीे बचतकर्ता मृत्यु हुन गएमा निजको नजिकको हकवालालाई दुर्घटना बीमा बापत एक लाख रुपैयाँसम्म प्रदान हुनेछ।

सेतोपाटीबाट साभार गरिएको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*