शिक्षाक्षेत्रमा अपुरणीय क्षति हुन सक्ने विज्ञहरुको भनाई

खबरपथ संवाददाता
२७ भाद्र २०७७, शनिबार १७:२८

बुटवल। विभिन्न क्षेत्रका विज्ञहरुले कोरोना भाइरस कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा अपुरणीय क्षति हुन सक्ने खतरा औंल्याएका छन् । लामो समय विद्यालय बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका सिकाई उपलव्धि गुम्न सक्ने र बीचमै पढाई छाड्ने दर बढ्ने खतरा रहेको उनीहरुको भनाइ छ ।
रोटरी क्लव अफ बुटवलको आयोजना र रिजन फाईभ अन्तर्गतका रोटरी र रोट¥याक्ट क्लवहरुको सहआयोजनामा भएको “शिक्षा क्षेत्रमा कोभिड–१९ को प्रभाव र अवको अभ्यास विषयक भर्चुअल अन्तक्र्रियामा सहभागी विज्ञहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलले कोभिड–१९ को महामारीले शिक्षा क्षेत्रमा अन्यौलतासँगै चुनौती थपिएको बताए । लामो समय विद्यालय जान नपाउँदा बालबालिकामा मनोवैज्ञानिक असर परेको, पढ्ने बानी छुटेपछि बीचमै पढाई छाड्ने दर बढ्ने खतरा रहेको उनको भनाइ छ । शहरी क्षेत्रमा भर्चुअल माध्यमबाट शिक्षण सिकाई सहज मानिए पनि ग्रामीण क्षेत्रमा यो निकै कठिन रहेको र अधिकांश विद्यार्थी प्रविधिको पहुँचबाट समेत बाहिर रहेको उल्लेख गर्दै उनले संकटको बेलामा शिक्षा क्षेत्रमा जागरुकता ल्याउन रोटरीयनहरुको भूमिका बढेको बताए ।

शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिपक शर्माले सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई जोड दिंदै आगामी असोज १ गतेदेखि लागू हुने गरी सिकाई सहजीकरण निर्देशिका ल्याएको जानकारी दिए । विज्ञहरुको सुझावका आधारमा ३० प्रतिशत पाठ्यक्रम घटाएर भएपनि शैक्षिक सत्र खेर जान नदिइने उनको भनाइ छ । “नियमित पठनपाठन सुरु नभएसम्म वैकल्पिक पठनपाठनमा जानुको विकल्प छैन, कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नियमित पठनपाठन सुरु गर्न सकिने अवस्था पनि छैन”–उनले भने । प्रवक्ता शर्माले प्रविधिको पहुँच नपुगेका विद्यार्थीलाई पनि पठनपाठनमा सहभागी गराउने तरिका र विकल्पबारे मन्त्रालयले गृहकार्य गरिरहेको बताउँदै विश्वविद्यालयहरु भने वैकल्पिक सिकाईमा अझ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँले विद्यालय बन्द हुँदा बालबालिकाले बीचमै पढाई छाड्न सक्ने खतरा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको बताए । सिकाई निर्देशिका ल्याउन मन्त्रालयले छ महिना लगाएको भन्दै उनले शिक्षामा निजी क्षेत्रको योगदानलाई पनि नबिर्सन सरकारको ध्यानाकर्षण गराए ।
अहिले देशभरका दुई हजार भन्दा बढी निजी विद्यालय बन्द रहेको र त्यहाँ कार्यरत मध्ये ४० हजार शिक्षक कर्मचारीले रोजगारी गुमाउन सक्ने संभावना रहेको भन्दै उनले २० प्रतिशत विद्यार्थीले निजी स्कुल छोड्न सक्ने संभावना पनि औंल्याए । बालबालिकाका लागि हालको शिक्षण सिकाई प्रणाली गलत रहेकाले अव भने कोभिड–१९ को प्रभावसँगै सिकाई प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने बेला आएको बानियाँले बताए । उनले विद्यार्थी भर्ना र वार्षिक शुल्क उठाउने कुरालाई खुला गर्न पनि उनले माग गरे ।
रोटरी नेपाल साक्षरता अभियान आरआई डिष्टिक ३२९२ का चेअर एवं पिडिजी तीर्थमान शाक्यले शिक्षा क्षेत्रमा रोटरीले चलाएको अभियानबारे जानकारी गराउँदै शतप्रतिशत साक्षर बनाउने गरी रोटरी अभियान अघि बढेको बताए । उनले शिक्षकहरुलाई इ–लर्निङप्रति उत्प्रेरणा जगाउने गरी रोटरीले अभियान चलाएको पनि उनले बताए ।
अन्तक्र्रियामा रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक राजेन्द्र ध्वजू, अर्का पुर्व अध्यक्ष राजेन्द्र लम्साल, पिडिजी किरण श्रेष्ठ, सञ्जय गिरीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । क्लवका अध्यक्ष सुनिल श्रेष्ठले १३२९ औं नियमित बैठकका साथै कोरोना भाइरसका कारण शिक्षा क्षेत्र अस्तव्यस्त अवस्थामा पुगेकाले विज्ञहरुलाई सहभागी गराएर शिक्षामा अवको योजनाबारे अन्तक्र्रिया गरिएको जानकारी गराए । भर्चुअल अन्तक्र्रियामा रोटरीयन, रोट¥याक्ट र शिक्षा क्षेत्रसँग सम्बद्ध करिव साढे २ सय जनाले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*