उद्योग संघको टोलीद्धारा मेटल काष्ट उधोग अवलोकन

खबरपथ संवाददाता
२९ भाद्र २०७७, सोमबार २०:०५

बुटवल । रुपन्देही उद्योग संघको पदाधिकारी टोलीले बुटवल औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेको मेटल काष्ट उद्योगको स्थलगत भ्रमण गरी उद्योगको सञ्चालन तथा नयाँ योजनाका बारेमा जानकारी लिएको छ ।

सोमवार संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा उद्योगमा पुगेको टोलीले उद्योगको अवस्था, पछिल्लो समयमा कोरोनाले पारेको प्रभाव तथा उद्योग उत्पादन र त्यसको बजार लगायतका विषयमा जानकारी लिएको थियो ।

त्यस अवसरमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले उद्योग सञ्चालनका क्रममा नीतिगत तथा व्यवहारिक रुपमा भोग्नु परेको समस्याका बारेमा संघमा लिखित जानकारी गराउन आग्रह गर्नुभयो । अध्यक्ष वोहोराले नेपालमा उद्योग सञ्चालन गर्न धेरै कठिनाई रहेको उल्लेख गर्दै समस्याकावीच पनि उद्यमशिलताको विकास जरुरी रहेको हुदा सञ्चालनमा रहेका उद्योगहरुलाई समय अनुसार आधुनिक र प्रविधियुक्त बनाउदै लैजानु जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष बोहोराले बुटवलको गरीमाको रुपमा रहेको मेटल काष्ट उद्योगले आयात प्रतिस्थापनका महत्वपूर्ण भूमिका खेल्न सक्ने हुदा त्यसलाई राज्यबाट सहुलियत र संरक्षणको पहल हुनु पर्ने माग गर्दै त्यसका लागि रुपन्देही उद्योग संघले सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा उद्योगका संस्थापक सञ्चालक नारायण शर्माले नेपालमा मेटल काष्टिङ्ग उद्योगको निकै ठूलो सम्भावना रहेको उल्लेख गर्दै त्यसको सुरुवात आफुहरुले गरेको हुदा त्यसमा अरु उद्योगीहरु पनि संलग्न हुन आग्रह गर्नुभयो । उहाले नेपालबाट ठूलो मात्रामा मेटल काष्ट उद्योगको नाममा धनराशी देशबाट बाहिरिएको बताउदै नेपालमा नै यस प्रकारका धेरै प्रकृतिका उद्योग खोलेर श्रम र धनको सहि सदुपयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभएको थियो ।
अनुगमनका क्रममा उद्योगका प्रबन्ध निर्देशक निश्चल शर्माले उद्योगको इतिहास, वर्तमान अवस्था र भावी योजनाका बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । उहाँले आफ्नो उद्योग नेपालको सबैभन्दा ठूलो क्षमता भएकोे दावी गर्दै ढलोटको रुपमा निर्माण गरिने कुनै पनि प्रकारका काम गर्न सक्ने बताउनुभयो ।


सञ्चालक शर्माले कोरोनाका कारण उद्योग क्षमताको ५० प्रतिशत मात्र सञ्चालनमा रहेको जानकारी गराउँदै विद्युत, दक्ष जनशक्तिको अभाव तथा केही नीतिगत विषयमा रहेका झमेलाका कारण काममा बाधा उत्पन्न हुने गरेको बताउनुभयो ।
हाल उद्योगमा करिव २० करोडको लगानी भैसेकको छ । वि.सं. २०३९ सालमा सानो लगानीमा स्थापना भएको सो उद्योग नेपाल कै नमुना योग्य उद्योग बनेको छ । उद्योग तथा हाइड्रो पावर कम्पनी एवं ढलोटका काम गर्न भारतमा जानु पर्ने बाध्यतालाई अन्त्य गर्न सकने क्षमता सहितको संरचना तयार भएको उद्योगीको दावी छ ।

संघको टोलीमा संघका वरिष्ठ उपााध्यक्ष माधव पौडेल, प्रथम उपाध्यक्ष दिलिप सापकोटा, द्वितिय उपाध्यक्ष कृष्ण पराजुली, महासचिव जीवकान्त काफ्ले, कोषाध्यक्ष हरीबहादुर खत्री, सचिव हिरामणी भट्टराई, सहकोषाध्यक्ष गिरीराज गैरे राजु तथा संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीको सहभागिता रहेको थियो ।

संघले जिल्लामा रहेका उद्योगहरुको स्थलगत भ्रमण गरी त्यहाँका समस्या तथा अवस्थाहरुको जानकारी लिंदै त्यसमा संघले निभाउने भूमिकाका बारेमा योजना बनाउने बार्षिक कार्यक्रम अन्तरगत सो भ्रमण गरिएको प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*