पहिरोमा परी स्याङजामा दश जनाको मृत्यु

खबरपथ संवाददाता
८ आश्विन २०७७, बिहीबार १४:५६

स्याङ्जा । पहिरोमा परी स्याङजामा दश जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी एकै परिवारका नौ जनाले ज्यान गुमाएका छन् भने कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा १ जनाको मृत्यु भएको छ ।
तमादीमा बिहीबार बिहान ६ बजे माया नेपालीको घरमाथिबाट आएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । र मृत्यु हुनेमा ७ महिनाका शिशुसमेत रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी मायाकी छोरी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

त्यसैगरी बिहीबार बिहान २ बजे कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*