तिलोत्तमामा निःशुल्क रेबिज खोप सप्ताह

खबरपथ संवाददाता
१२ आश्विन २०७७, सोमबार १८:५६

तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा सोमबारबाट एक हप्ते निःशुल्क रेबिज खोप सप्ताह सुरु भएको छ । १४ औं विश्व रेबिज दिवसको अवसरमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय र तिलोत्तमा नगरपालिकाको सहकार्यमा रेबिज खोप सप्ताह सञ्चालन भएको हो । हरेक वर्ष सेक्टेम्बर २८ तारिखको दिन विश्व रेबिज दिवस मनाउने गरिन्छ । यो वर्ष ‘रेबिज अन्त्यको लागि सहकार्य र खोप’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

दिवसको पहिलो दिन जानकीनगर स्थित पशु सेवा शाखामा वडा नं. १, २, ३, ४ र ५ मा पालिएका कुकुरहरुलाई रेबिज विरुद्धको खोप दिइएको छ । असोज १३ गते वडा नं. १३ र १४, असोज १४ गते वडा नं. ११ र १२, असोज १५ गते वडा नं. ६ र ८, असोज १६ गते वडा नं. ७ र ९, असोज १७ गते वडा नं. १० र १७, असोज १८ गते वडा नं. १५ र १६ को लागि खोप कार्यक्रम सञ्चालन गरिने पशु सेवा शाखाले जनाएको छ ।

नगरपालिकाले तोकिएको स्थानमा घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन सबै नगरबासीलाई आग्रह गरेको छ । रेबिज उन्मूलन गर्न खोप र जनचेतना नै महत्वपूर्ण रहेकोले यो रोगबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यले दिवसको अवसरमा खोप सप्ताह सञ्चालन गरिएको हो ।

खोप सुभारम्भ कार्यक्रममा भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले रेबिज प्राणघातक रोग भएकोले यसबाट बच्न कुकुरधनीले आफूले पालेको कुकुरलाई अनिवार्य रेबिज विरुद्धको खोप दिनुपर्ने बताउनुभयो । यस्तै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले कुकुर पाल्नेहरु जनस्वास्थ्यप्रति सचेत रहनुपर्ने बताउँदै घरपालुवा कुकुरलाई घरभित्रैं राखिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तिलोत्तमा नगर उप–प्रमुख जगेश्वरदेवी चौधरी, निर्देशनालयका प्रमुख तुलसीराम भण्डारी, डा. प्रदीप पौडेल, डा. हरि बहादुर कुँवरलगायतले कुकुर पाल्नेहरुले हरेक वर्ष अनिवार्य उनीहरुलाई खोप दिनुपर्ने बताउनुभयो ।

स्याल, बादर, ब्वासो, फ्याउरो, बिरालोलगायतका रोगी जनावरले टोकेको अवस्थामा समेत ¥यालको माध्यमबाट रेबिज सर्ने गरे पनि दक्षिण पूर्वी एशियाका मानिसहरुमा ९६ प्रतिशत रेबिज रोग कुकुरको टोकाईबाट सर्ने गरेको पाइएको तथ्यांक छ । रेबिज सङ्क्रमित जनावरले टोक्दा ¥यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्छ ।

रेबिज रोगमा ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे–पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुनिने, पानी देखि डराउने लगायतका लक्षण देखिन्छन् । घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुन–पानीले धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुको आग्रह छ ।

रेबिज विरुद्धको खोप विकास गरेका लुइस पास्टरको निधन भएको दिनको सम्झनामा हरेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाउने गरिन्छ । रेबिजका कारण विश्वमा वर्षेनी झण्डै ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । रेबिजका कारण ज्यान गुमाउनेमा आधाभन्दा बढी बालबालिका छन् । विश्वमा हुने रेबिजको समस्यामध्ये ९५ प्रतिशत एसिया र अफ्रिकामा हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*