राजधानी सार्ने निर्णय सच्याउन नेकपा तिलोत्तमाको माग

खबरपथ संवाददाता
१८ आश्विन २०७७, आईतवार १८:४२

तिलोत्तमा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले प्रदेशको स्थायी राजधानी सम्बन्धमा प्रदेश ५ सरकारले गरेको निर्णय सच्याउन माग गरेको छ ।
प्रदेश ५ को नामाकरण र स्थायी राजधानीका सम्बन्धमा प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा पेश गरिएको प्रस्ताव र त्यसका कारण उत्पन्न परिस्थितिका सन्दर्भमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै नेकपा तिलोत्तमा नगर कमिटीले उक्त निर्णय सच्याउन माग गरेको हो ।
नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालद्वारा जारी विज्ञप्तीमा प्रदेश राजधानी तोक्दा प्रशासनिक सहजता, भुगोलको सुगमता र भौतिक पूर्वाधारको विकासलाई ध्यान दिनुपर्ने संविधानमा उल्लेख भएकाले प्रदेश सरकारले पेश गरेको प्रस्ताव औचित्यपूर्ण नरहेको उल्लेख छ । प्रदेश सरकारलाई नागरिक सर्वोच्चताको संबोधन गर्न र प्रदेश सांसदहरुलाई आफूलाई प्राप्त जनमतप्रति निष्ठा, इमान र दृढताका साथ पेश हुन विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

यसबीचमा रुपन्देहीबासी र यहाँका संघसंस्थाहरुले प्रदेश सरकार र यसका विभिन्न अंगहरुलाई गरेको योगदान प्रति सम्मान गर्न प्रदेश सरकारलाई विज्ञप्ती मार्फत अपिल पनि गरिएको छ । साथै विज्ञप्तीमा प्रदेश सरकारले ठूलो धनराशी खर्च गरी भौतिक पूर्वाधार समेत निर्माण गरिसकेको अवस्थामा अस्थायी सदरमुकामलाई नै प्रदेशको स्थायी राजधानीको रुपमा अगाडि बढाइ जनमतको सम्मान गर्न आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*