प्रदेशको राजधानी दाङ सार्न गरेको प्रस्तावप्रति नेकपा रुपन्देहीको विरोध

खबरपथ संवाददाता
१८ आश्विन २०७७, आईतवार २१:३०

बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको रुपन्देही जिल्ला कमिटीले प्रदेशको राजधानी दाङ सार्न गरेको प्रस्तावप्रति विरोध जनाएको छ ।

संविधानले प्रदेश राजधानी तोक्दा प्रशासनिक, भूगोल र भौतिक पूर्वाधारको विकासलाई ध्यान दिनुपर्ने व्यवस्था गरे पनि प्रदेश सरकारले स्थायी राजधानी तोक्दा संविधानको भावना आत्मसात नगरेको नेकपाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

‘कोरोना महामारीको विषम अवस्थामा प्रदेश सरकारले राजधानी सार्न पेश गरेको यो प्रस्ताव औचित्यपूर्ण पनि देखिंदैन’ पार्टी अध्यक्ष शिवराज सुवेदी र सचिव नारायण जीसीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रदेश राजधानी सार्दा रुपन्देही र यस आसपासका नागरिकलाई असुविधा पर्ने भएकाले जनमत आन्दोलित हुनु स्वाभाविक भन्दै नेकपाले राजनीतिक दल, संघसंस्था तथा नागरिकलाई संयमित रुपमा आफ्नो मत राख्न आग्रह गरेको छ ।

नेकपाले रुपन्देहीवासी र यहाँका संघसंस्थाले प्रदेश सरकार र यसका विभिन्न अंगहरुलाई स्थापित गर्न गरेको योगदानको सम्मान गर्न पनि प्रदेश सरकारलाई विज्ञप्तिमार्फत अपिल गरेको छ ।

‘प्रदेश सरकारले ठूलो धनराशी समेत खर्च गरी भौतिक पुर्वाधार समेत निर्माण गरिसकेको अवस्थामा वर्तमान अस्थायी राजधानीलाई नै प्रदेशको स्थायी राजधानीको रुपमा अगाडि बढाई यस क्षेत्रको पार्टी पंक्ति, जनमत र नागरिक आवाजलाई सम्मान गर्न अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*