राजधानी दाङ सार्ने प्रस्तावको बिरोधमा धर्ना

खबरपथ संवाददाता
१९ आश्विन २०७७, सोमबार १२:०३

बुटवल ।  प्रदेश पाँचको राजधानी दाङ् लैजाने सरकारको प्रस्तावको बिरोधमा अस्थायी राजधानी बुटवलमा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस तथा उद्योगी व्यबसायीले धर्ना दिएका छन् । प्रदेश पाँचको राजधानी बुटवलबाट सार्नको लागि सरकारले प्रदेश सभा बैठकमा प्रस्ताव गरेपछि उक्त प्रस्तावको बिरोध हुँदै आएको थियो ।

त्यसको बिरोध गर्दै आज नेपाली काँग्रेस रुपन्देही र उद्योगी व्यबसायीहरुको साझा संस्था सञ्जाल रुपन्देहीको आयोजनामा काँग्रेसका नेता कार्यकर्ता तथा उद्योगी व्यबसायीले प्रदेश सभा भवन छिर्ने मुल सडकमा बिहानै देखि धर्ना दिएका छन् ।
नेपाली काँग्रेस र उद्योगी व्यबसायीहरुको साझा संस्था सञ्जाल रुपन्देहीले आह्वान गरेको उक्त धर्ना कार्यक्रममा रुपन्देहीका स्थानीय तहका जनप्रतिनीधिहरु समेत सहभागि छन् । धर्ना कार्यक्रमकै बिचमा सम्बोधन गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सरकारको उक्त प्रस्ताव कुनै पछि मानेमा मान्य नहुने चेतावनी दिनुभयो ।

उहाँले हिजो जनतासंग मत माग्दा गरेका बाचा स्मरण गर्न समेत नेताहरुलाई आग्रह गर्नुभयो । त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले प्रदेशका सबै जनतालाई पायक बुटवलमै पर्ने भएकाले सिमित भूगोललाई मात्रै लक्षित गरेर राजधानी सार्ने प्रस्ताव सहि नभएको बताउनु भयो ।

धर्नामा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व मन्त्री अब्दुल रज्जाक, जिल्लाका पूर्व सभापति रामचन्द्र ढकाल, उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री, संयुक्त संघर्ष समिति सञ्जाल रुपन्देहीका संयोजक खिमबहादुर हमाल, सहसंयोजक यमलाल लोहोनी तथा नेपाली काँग्रेसका नेता कार्यकता सहित उद्योगी व्यबसायी छन् ।
आजै उक्त प्रस्तावमाथी छलफल हुँदैछ । सरकारले प्रदेश सभा आसपास तथा बुटवलका मुख्य चोकहरुमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*