रुपन्देहीका उद्योगी व्यबसायीद्वारा नेकपा परित्याग गर्ने चेतावनी

खबरपथ संवाददाता
२० आश्विन २०७७, मंगलवार १३:१५

बुटवल ।  दुई तिहाई बहुमत रहेको प्रदेश पाँच सरकारले प्रदेशको राजधानी दाङ् राख्ने प्रस्ताव फिर्ता नगरे नेकपा निकट रुपन्देहीका उद्योगी व्यबसायीले पार्टी परित्याग गर्ने चेतावनी दिएका छन् । आज प्रदेशको राजधानी दाङ् राख्ने प्रस्ताव उपर प्रदेश सभामा मतदान हुँदैछ । मतदान हुनु भन्दा केही समय अंगाडी मात्रै नेकपा समर्थित उद्योगी व्यबसायीले होटल न्यू ईरामा पत्रकार सम्मेलन गरेर उक्त प्रस्ताव फिर्ता नगरे पार्टी परित्याग गर्ने जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा उद्योग विभागका प्रदेश सदस्य समेत रहेका एजाज आलमले भन्नुभयो–‘हिजो झुट्टा आश्वासन किन दिईयो, आज पार्टीमा बस्न समेत लज्जाबोध भईरहेको छ ।’ प्रदेशको स्थायी राजधानी बुटवललाई नै बनाउने बाचा सहित नेकपाका महासचिव बिष्णु पौडेलले भारी मत सहित प्रतिनीधि सभा सदस्यमा चुनाव जित्नु भएको थियो । आज त्यहि नेकपाको सरकारले प्रदेशको राजधानी दाङ् लैजाने प्रस्ताव गर्दा महासचिव पौडेल एक बचन पनि नबोलेकोमा उद्योगी व्यबसायले चित्त दुखाएका हुन् ।
पत्रकार सम्मेलनमा व्यबसायी तथा रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष मोतिलाल पाण्डेले प्रदेशको राजधानी सम्बन्धि प्रस्ताव फिर्ता हुँदैन भने त्यो पार्टीमा बसिरहनुको कुनै औचित्य नभएको बताउनु भयो ।
बुटवल उपमहानगर भित्रका ३७ वटा व्यबसायिक संस्थामा आवद्ध २ हजार २४९ जनाको पार्टी परित्याग गर्नको लागि हस्ताक्षर संकलन भएको तथा हस्ताक्षर संकलन कार्य भईरहेको र आजको सदनको निर्णयलाई हेरेर सोही अनुसार आफूहरु अंगाडी बढ्ने होटल तथा रेष्टुरेन्ट व्यबसायी महासंघका पूर्व अध्यक्ष माधव नेपालले बताउनु भयो ।
बिष्णु पौडेल, भूमिश्वर ढकाललाई हिजो चुनावमा आफूहरुले नै जिताएको दावी गर्दै होटल तथा रेष्टुरेन्ट व्यबसायी संघका अध्यक्ष समुन्द्र जिसीले भन्नुभयो–‘भूमिश्वर ढकाललाई आफ्ना मतदाता भन्दा पद प्यारो भयो ? हामी चुनौती दिन चाहन्छौं अर्को चुनाव पनि लड्ने होलानी !’

रुपन्देहीको क्षेत्र नं. ५ (क) बाट निर्वाचित भूमिश्वर ढकालले निर्वाचनका बेला मतदातासंग रुपन्देहीलाई प्रदेशको राजधानी बनाउने बाचा गरेको र अहिले पदका लागि दाङ्को पक्षमा लभिङ् गर्नुभएको छ । नेकपाको बुटवल नगर सचिवालय सदस्य समेत रहेका रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले भन्नुभयो –‘हामी पार्टीको सुभेच्छुक मात्रै नभएर बिभिन्न तहको जिम्मेवारीमा पनि छौं, हाम्रो कुरै सुनिदैन भने पार्टीमा रहिरहनुको कुनै औचित्य रहेन ।’
पश्चिम नेपाल बस प्रालिका सञ्चालक नारायणप्रसाद घिमिरेले ‘हामीलाई पार्टीको भन्दा पनि भूमिको मायाँ छ’ भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*