तिलोत्तमा वडा नं ९ मा पनि खुल्यो सरकारी स्वास्थ्य संस्था

खबरपथ संवाददाता
२६ कार्तिक २०७७, बुधबार १२:१५

तिलोत्तमा। तिलोत्तमा नगरपालिका वडा नं. ९ मा पनि सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएको छ । मंगलबारबाट वडा नं. ९ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै तिलोत्तमा नगरपालिकामा सरकारी स्वास्थ्य संस्थाको संख्या १५ पुगेको छ ।


वडा नं. ९ को दक्षिणटोलमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले उद्घाटन गर्नुभयो । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामले तीव्रता पाएको हो । स्वास्थ्य केन्द्रको आफ्नै सुविधासम्पन्न भवनहरु पनि निर्माण भैरहेको छ ।


हालसम्म तिलोत्तमाका वडा नं. १, २, ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएका छन् । आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमैं पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् । आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध छन् । कार्यक्रममा वडाध्यक्ष नारायण न्यौपाने, स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेल, सिनियर अहेव अधिकृत गणेश गौतम, नेत्र वनलगायतले आधारभूत स्वास्थ्य सेवाको बारेमा बोल्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*