कक्षा १२ को परीक्षा आज देखि सुरू

खबरपथ संवाददाता
९ मंसिर २०७७, मंगलवार ११:१२

काठमाडौँ। कक्षा १२ को परीक्षा आज देखि सुरू भएको छ । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको परीक्षा मंगलबार बाट सुरु भएको हो ।

४० प्रतिशत अंकका लागि लिइएको पहिलो दिनको परीक्षा ८ बजे सुरू भएर साढे ९ बजे सकिएको छ ।

बाँकी ६० प्रतिशतमध्ये कक्षा ११ उत्तीर्ण भएको आधारमा ४० प्रतिशत र २० प्रतिशत आन्तरिकरूपमा विद्यार्थीको मूल्यांकनबाट हुनेछ ।

बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दूरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखेर परीक्षा सुरू गरिएको जानकारी दिनुभयो ।

संक्रमित परीक्षार्थी भए उसका लागि छुट्टै परीक्षा कोठाको व्यवस्था गरिएको छ । संक्रमितको परीक्षा भने १५ मिनेट ढिलो हुने गरी प्रबन्ध मिलाइएको छ । परीक्षामा सहभागी भएकै अवस्थामा कसैमा संक्रमण पुष्टि भएमा उनीहरूका लागि भने पछि परीक्षा दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ । उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ । परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलले बताउनसभयो ।

परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

परीक्षाको अनुगमन र निगरानी अनलाइनबाटै गरिएको छ । बोर्डमा कन्ट्रोल रुमको व्यवस्था गरेर निगरानी गरिने व्यवस्था मिलाइएको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले परीक्षा केन्द्रमा आउ–जाउ गर्दा स्वास्थ्य सावधानीका सबै उपाय अवलम्बन गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*