सरकार जनताको भरोसा अनुसार चलेको छः अर्थमन्त्री पौडेल

गिर्वाण संस्कृतमा नमूना मन्टेश्वरी भवन उदघाटन
खबरपथ संवाददाता
१० मंसिर २०७७, बुधबार १९:३१

तिलोत्तमा । अर्थमन्त्री विष्णु पौडेलले जनताको भरोसा अनुसार सरकार चलेको बताउनुभएको छ । “जनताले जे आशा र अपेक्षा गरेका थिए, सरकार सोही दिशामा अघि बढेको छ”उहाँले भन्नुभयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको बालमैत्री नमुना मण्टेश्वरी भवनको उदघाटत र छात्रावास भवन निर्माण शुभारम्भ गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले निर्वाचनको घोषणापत्रलाई कार्यान्वयन गर्ने गरी सरकार अघि बढेको पनि दावी गरे । तिनाउ, दानव नदीको किनारमा बन्ने कोरिडोर यस क्षेत्रको आर्थिक, सामाजिक हिसावले महत्वपूर्ण आयोजना हुने उहाँले बताउनुभयो । तिनाउ, दानव कोरिडोरको जनस्तर र सञ्चारकर्मीबाट निगरानी गर्न आवश्यक पर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । रुपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहनुभएका पौडेलले रुपन्देही साँघुरिदै गएको उल्लेख गर्दै व्यवस्थित शहरीकरणको योजनाका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो ।
यस क्षेत्रलाई महानगरको रुपमा विकास गर्नुपर्ने र त्यसका लागि सुनौलीदेखि बुटवल, तिनाउ नदी आसपासका पालिका र परासीसम्मको सीमानालाई महानगरको अवधारणामा अगाडि बढाउन सकिने उहाँको भनाई छ । महानगरको लागि गुरुयोजना बनाउनु पर्ने उल्लेख गर्दै त्यसका लागि सरकारको तर्फबाट आफुले सहयोग पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । तिलोत्तमा नगरपालिकामा बन्ने मेडिकल कलेजको डिपिआरको तयारी भैरहेको बताउंदै २ सय विघा जमिनमा बन्ने मेडिकल कलेज लागतको हिसावले महत्वकांक्षी रहेको बताउनुभयो । उहाँले तिलोत्तमाका सबै वडालाई समेटेर तिलोत्तमा चक्रपथ बनाइने र त्यसका लागि चनाखो भएर लाग्न जनप्रतिनिधिलाई अर्थमन्त्रीले आग्रह गर्नुभयो ।

त्यस अवसरमा उहाँले गिर्वाण संस्कृति तथा साधारण माविको नमूना मण्टेश्वरी भवनको उदघाटन र छात्रावास भवनको शुभारम्भ गर्नुभएको थियो । अर्थमन्त्री पौडेलले विद्यालयको भौतिक पूर्वाधारदेखि हरेक विकासका लागि वजेटको व्यवस्था गर्ने दायित्व जनप्रतिनिधिको भएको बताउनुभयो । विकासको लागि वजेट माग गर्नु जनताको अधिकार भएको मन्त्री पौडेलको भनाइ छ । गिर्वाण स्कुलको भौतिक र शैक्षिक विकासका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले केपी ओली नेतृत्वको सरकारले आफ्नो पांँच वर्षे कार्यकाल पूरागर्ने दावी समेत गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केदारचन्द्र पराजुलीले विद्यालयको भौतिक तथा शैक्षिक गतिविधिबारे जानकारी गराउनुभएको थियो । उहाँले नर्सरी, केजी र कक्षा १ को पढाईका लागि निर्माण गरिएको बालमैत्री नमुना मण्टेश्वरी भवनलाई अत्याधुनिक तीन तले बनाउने योजना रहेको र त्यसका लागि वजेटको अभाव रहेकाले तीनै तहका सरकारसँग वजेटको माग गर्नुभयो । विद्यालयका शिक्षक कृष्ण पोखरेलले सबै क्षेत्रको सहयोगले विद्यालयले भौतिक प्रगतिसँगै शिक्षा क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*