साझा र विवेकशील बीच एकीकरणको घोषणा

खबरपथ संवाददाता
२४ मंसिर २०७७, बुधबार १६:३५

काठमाडौँ । साझा पार्टी र विवेकशील नेपाली दल बीच एकीकरणको घोषणा भएको छ । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ। एकता सम्झौतामा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन् ।

वरियतामा पहिलो रहेका मिश्र पार्टीको अध्यक्ष र दोस्रो वरियतामा रहेका पाण्डेलाई संयोजक बनाइएको छ । सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहने गरी दुई दलबीच एकीकरण भएको हो । दुबै दलबाट सचिवालयमा १३/१३ जना तथा केन्द्रीय कमिटीमा ६५/६५ जना सदस्य रहेका छन् ।

यी दुई पार्टीबीच २०७४ साउन ११ गते पहिलोपल्ट एकता भएको थियो। पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । पार्टी फुटेको २३ महिनापछि फेरि जोडिएका दुई दलले विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्ने गरी एकतामा जुटेको बताएका छन् । एकीकृत पार्टीमा दुवै दलबाट बराबर सहभागिता रहेको जनाइएको छ ।

एकता भएपछि पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै राखिएको छ । सम्झौतापत्रमा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने लगायतका बुँदा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*