अर्थमन्त्री पौडेल र कोरियाका राजदूत योङसिकबीच शिष्टाचार भेटघाट

खबरपथ संवाददाता
२५ मंसिर २०७७, बिहीबार १८:०८

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भयो ।
भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भयो । अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
नेपाल र कोरियाबीच व्यापार, लगानी र रोजगारीको क्षेत्रमा समेत आपसी सहकार्य बढदै गएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले ‘ईपीएस’ (ईम्लाएमेन्ट प्रमिट सिस्टम) मार्फत नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको  बताउनुभयो ।


उहाँले कोभिड-१९ विरुद्ध नेपालले गरेको प्रयासमा कोरिया सरकारको सहयोग र सहकार्यका लागि धन्यवाद दिनुभयो ।
अर्थमन्त्री पौडेलले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियन जनताको उपस्थिति बढाउन थप सहयोगको लागि आग्रह गर्नुभयो ।
उहाँले कोरिया सरकारको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरुका लागि मन्त्रालयको सहयोग साथ र समर्थन रहने बताउनुभयो ।
राजदूत योङसिकले कोरियन सरकारले नेपालको विभिन्न क्षेत्रमा गरेको सहयोगका बारेमा जानकारी गराउँदै प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग बिस्तार गर्ने जानकारी गराउनु भयो ।
उहाँले कोरियाको निजी क्षेत्रबाट थप लगानी बढाउन समन्वय गर्ने बताउनुभयो । साथै ईपीएसमार्फत नेपाली रोजगारीका लागि कोरियामा कार्यरत जनशक्ति तथा त्यहाँबाट फर्केर आएका जनशक्तिलाई उद्यमशिलता प्रदान गरी व्यावसायिक बनाउने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।
राजदूत योङसिकले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा कोरियन सरकारको सक्रिय योगदान हुने बताउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*