रुपन्देहीको सियारीमा लालपुर्जा वितरण

खबरपथ संवाददाता
३ पुष २०७७, शुक्रबार ११:४३

रुपन्देही ।  रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लकमा रहेका जग्गाको जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । गाउँपालिकाको वडा नं. ३ र ४ का ६७ घरपरिवारलाई विहिबार लालपुर्जा वितरण गरिएको हो ।

पहिले नापी गर्दा छुट भएका जग्गालाई गाउँब्लक मानिँदै आएको छ । गाउँब्लक भित्र पर्ने जग्गामा वर्षौ देखि खनजोत र भोगचलन गर्दै आए पनि लालपुर्जा पाउन नसकेका स्थानीयवासीलाई लालपुर्जा वितरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनुभयो । उहाँले भन्नुभयो — “घरबास नभएका, सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई लगत संकलन गरेर पुर्जा वितरण गर्छौं, जग्गाको मालिक वनाउँछौं, यस कार्यमा स्थानीय, प्रदेश र संघिय सरकार लागि परेकाछौं ।”
विभिन्न वडाका गाउँ ब्लकमा रहेका लालपुर्जा वितरणको कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अमृता गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो —“गाउँपालिकावासिहरुको चहना अनुसार काम गर्छौ ।”
घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई गाउँपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले बताउनु भयो ।
सियारी गाउँपालिकामा करिव दुई हजार परिवारलाई पुर्जा वितरण गर्न बाकीं रहेको र जिल्लामा एक हजार ३ सय ८३ ब्लकको पुर्जा वितरण गर्न बाकी रहेको जिल्ला नापी कार्यलय रुपन्देहीका प्रमुख अजित कुंवरले बताउनु भयो ।

जग्गा धनी पुर्जा पाएपछि सियारी ३ भैसाखदारकी अनुपा चौधरीले खुसि ब्यक्त गर्नु भयो । उहाँले भन्नुभयो—“पुस्तौ देखि बसेको ठाउँको पुर्जा पाएँ, खुसि लागेको छ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*