ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक – खांण

खबरपथ संवाददाता
१३ पुष २०७७, सोमबार १८:३१

भैरहवा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खांणले  ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । उनले सरकारले जनताको हकअधिकार खोसेको आरोप लगाएका छन् ।

नेकपाको के.पी. शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको बिरोधमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आयोजनामा भएको सभालाई सम्बोधन गर्दै नेता खांणले ओली कै पालामा मुलुकमा भ्रष्टाचार बढेको बताए ।

‘सरकारले जनताको मनोभावनाविपरीतका कार्य गर्दै आएको छ, सरकार संवेदनशील छैन, ’उनले भने । उनले कोरोनाको रोकथामका लागि भनेर खरीद गरिएका सामाग्रीमा पनि भ्रष्टाचार गरिएको बताए । जनताको जनादेशविरुद्ध लाग्ने कुनै पनि राजनीतिक दलको विरोध गर्नुपर्ने उनले बताए । उनले कांग्रेसको विरोधलाई हलका रुपमा लिने शक्ति समाप्त हुने दावी गरे ।

संघीय सदनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खांणले प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत कदम चालेकोले यसलाई सच्याउनु पर्ने र जनतासमक्ष माफी माग्नुपर्ने बताए । उनले जनतासंग माफी नमागे कम्युनिष्ट पतन हुने समेत दावी गरे । कांग्रेस संविधान र लोकतन्त्रको रक्षाको लागि बलिदान दिन पनि तयार रहेको खांणले बताए ।

’नेपालको राष्ट्रियता र लोकतान्त्रिक मुल्य–मान्यतालाई कमजोर हुन दिने पक्षमा कांग्रेस कहिल्यै हुन सक्दैन,’ उनले भने । अहिलेको मुलुकको संविधानले प्रधानमन्त्री र राष्ट्रपतिलाई नभई जनतालाई मालिक बनाएको खांणले बताए ।

त्यस्तै कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले कम्युनिष्ट कहिल्यै पनि लोकतान्त्रिक बन्न नसकेको बताए । उनले संसदलाई पुनस्र्थापना गर्नुपर्नेमा जोड दिए ।

कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले केपी ओलीले अधिनायकवाद शैली नसच्याए कांग्रेस थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले ओली सरकारले कानुन मिच्ने काम गरेको बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा कांग्रेस नेतृ रमा अर्यालले ओली सरकारले संसद विघटन गरेर जनताको अधिकार खोस्ने काम गरेको बताइन् । उनले संविधानको रक्षा गर्न कांग्रेसले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।

कांग्रेस महासमिति सदस्य तथा संविधानसभा सदस्य इस्तियाक अहमद खानले कम्युनिष्ट सरकारले जनतालाई केही दिन नसकेको बताए । उनले कम्युनिष्ट सरकारले किसानको लागि पनि केही गर्न नसकेको बताए ।

कांग्रेस क्षेत्र नम्बर ३ का उपसभापति पुरन प्रसाद श्रेष्ठले ओली सरकारले असंवैधानिक कदम चालेको बताए । कांग्रेस सिद्धार्थनगर सभापति दिलिप धितालले कम्युनिष्ट सरकार असफल भएको बताए । कांग्रेस महासमिति सदस्य माधवी शर्मा वाग्लले कांग्रेस सबैलाई समेटेर लैजाने पार्टी भएको बताइन् ।

कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति मात्रिका प्रसाद यादवको सभापतित्व, सह–सभापति प्रेम बहादुर फौजदारको स्वागत तथा सचिव शुशिल गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*