रुपन्देही व्यापार संघको १९ औं बार्षिक साधारणसभा : राजनीतिक अस्थिरता नल्याउन व्यापारीहरुको आग्रह

खबरपथ संवाददाता
१३ पुष २०७७, सोमबार १९:१७

बुटवल। आर्थिक समृद्धि र व्यवसायीक विकासका लागि मुलुकमा राजनीतिक स्थायित्व जरुरी रहेको आर्थिक क्षेत्रका अगुवाहरुले बताएका छन् । उनीहरुले लामो राजनीतिक आन्दोलन पछि देश स्थिरतातर्फ अगाडी बढेको अवस्थामा पछिल्ला दिनहरुमा केही असहजताको स्थिती देखापरेकोप्रति चिन्ता व्यक्त गर्दै अस्थिरताको असर आर्थिक क्षेत्रमा पर्ने धारणा राखेका छन् ।
उनीहरुले व्यवसायीहरु सधै राजनीतिक स्थिरताको पक्षमा हुने स्पष्ट पार्दै सबै राजनीतिक दलहरुलाई मिलेर आर्थिक समृद्धिको दिशामा अगाडी बढ्न र आफ्नो राजनीतिक स्वार्थभन्दा देशको आर्थिक समृद्धिलाई माथि राख्नसमेत अनुरोध छन् ।
रुपन्देही व्यापार संघको १९ औं बार्षिक साधारणसभाको सोमवार उद्घाटनका अवसरमा बोल्दै उनीहरुले सो धारणा व्यक्त गरेका हुन ।


कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्योगी र उपभोक्ताको विचमा बसेर पुलको रुपमा काम गर्ने व्यापारी वर्गको आर्थिक विकासमा धेरै महत्वपूर्ण भूमिका रहदै आएकोमा कसैले विमति राख्न नसक्ने उल्लेख गर्दै व्यापारी वर्गले दुवैलाई मिलाएर लैजान आग्रह गर्नु भयो ।
उहाले वजारलाई व्यवस्थित गर्ने र राज्यको नीति निमार्णमा सहयोगिको भूमिका निभाएको व्यापार क्षेत्रले आत्मनिर्भर अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ र स्वदेश उत्पादनको प्रयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको रक्षामा ध्यान दिन सुझाव दिनु भयो ।
नगरप्रमुख सुवेदीले कोभिडका समयमा निकै पिडाका विच व्यापारी तथा सर्वसाधारण जनताले देखाएको धैर्यतालाई कसैले पनि नजरअन्दाज गर्न नसक्ने उल्लेख गर्दै कुनै पनि राजनीतिक विवादले राज्यका नीति कार्यन्वयन गर्न बाधा नआउने विश्वास व्यक्त गर्नु भयो । उहाले अहिले नेकपामा देखिएको विवाद आन्तरिक विवाद संविधानभित्रबाट भएको विवाद भएका कारण यस्ले जनता र व्यवस्थालाई कुनै असर नपुग्ने बताउदै उद्योगी व्यवसायीहरुलाइृ कुनै प्रकारको बन्द हडतालका पछि नलाग्न पनि आवहान गर्नु भयो ।
कार्यक्रममा संघका अध्यक्ष यमलाल लोहनीले संघको धारण राख्दै कोभिड–१९ प्रकोपका कारण व्यवसाय क्षेत्रमा निक्कै ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै साना व्यवसाय गर्ने व्यवसायीको तथा मजदूरी गरी खानेको दैनिकी नै प्राय ः बन्द हुन पुग्यो र त्यो पिडाबाट अझै उम्कन नसकेको बताउनु भयो ।
उहाले कोरोनाले मुलुकका आर्थिकलगायत सबै क्षेत्रमा परेका प्रभावको दीर्घकालीन असर एकएक गरेर देखिन थालेको उल्लेख गर्दै कोरोनाले दैनिक जनजिवनकासाथै सबै क्षेत्रमा पारेको प्रभावको सहि व्यवस्थापन तीनै तहका सरकारले गर्नु जरुरी रहेको धारणा राख्नु भयो । अध्यक्ष लोहनीले उद्योगीहरुको र व्यवसायीहरुको समस्या अलग प्रकृतिका भएका कारण तिनको समाधानका लागि राज्यका नितिहरु पनि फरक फरक हुनुपर्ने माग गर्नु भयो ।
उहाले रुपन्देही व्यापार संघले विगतदेखि ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नारालाई अगाडि सारेको उल्लेख गर्दै संघ यसैमा अडिक रहेको हुदा संघले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर जानकारी गराउदै सबैसंग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय भैरहवाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले व्यवसायीहरुका लागि राज्य सधै सहयोगिको भूमिकामा रहने उल्लेख गर्दै जनताको आवश्यक्ता र चाहानालाई सबैले आत्मसाथ गर्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा रुपन्देही व्यापार संघका पूर्व अध्यक्षज्यूहरु मोतीलाल पाण्डे, श्रीकृष्ण पोखरेल, टंक प्रसाद पोखरेल, निर्वतमान अध्यक्ष पदम प्रसाद श्रेष्ठ, संघका सल्लाहाकार एवं लुम्विनी प्रादेशीक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपि कंडेल, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेल, बुटवल उद्योग वाणिज्य संघका बाणिज्य उपाध्यक्ष उज्जवल कसजु, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरा, लगायतका बोल्नु भएको थियो ।
संघको साधारणसभाको बन्दसत्रले संघका महासचिव दयानीधि भण्डारीको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष दिपक अधिकारीको आर्थिक प्रतिवेदन छलफलपछि परिमार्जनसहित पारित गरेको छ । कार्यक्रम संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता, महासचिव दयानिधी भण्डारीको सञ्चालन, वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद घिमिरेको स्वागत तथा प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*