बगनासकालीमा मेडपाको वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
१६ पुष २०७७, बिहीबार २०:०४

पाल्पा। बगनासकालीमा मेडपाको वडास्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । ‘स्थानीय स्रोत साधनको सदुपयोग गरौं ः सीप सिकौं, आम्दानी वृद्धि गरौं’ भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत अभिमुखीकरण कार्यक्रम बगनासकालीमा सम्पन्न भएको हो ।

बुधबार वडा नं. ५ दर्लमडाडाँमा उद्यम विकास कार्यक्रमको लागि वस्ती छनोट गर्ने र मेडपा कार्यक्रमबारे समुदायमा जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको फोकल पर्सन यादव न्यौपानेले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नं. ३,४, ५ र ६ मा गरी चार वटा वडामा मेडपा कार्यक्रम सञ्चालन गरिने न्यौपानेले बताउनुभयो । उहाँले पहिलो चरणमा कार्यक्रम हुने सञ्चालन गरिने सवै वडामा अभिमुखीकरण आयोजना गरी लघु उद्यम, लघुउद्यम विकासको मोडेल, लघु उद्यम विकासका विशेषत लगायतको विषयमा वस्तीस्तरमा जानकारी गराइने बताउनुभयो ।

अभिमुखीकरणमा उद्यम विकास सहजकर्ता राजन कार्की र शर्मीला विकले सहजीकरण गर्नुभएको थियो । वडा अध्यक्ष ईश्वर रानाको अध्यक्षतामा भएको कार्यक्रममा ३७ जनाको सहभागिता रहेको थियो । यसैबीच बिहीबार वडा नं. ३ नायरमा समेत अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको उद्यम विकास सहजकर्ता शर्मिला विकले बताउनुभयो । वडा अध्यक्ष टिकाबहादुर थापाको अध्यक्षतामा चलेको हो । मागमा आधारित रणनीति, लघु उद्यम उद्यम विकास नमुना, उद्यमशिलता विकास तालिम, स्थानीय स्तरमा रोजगारी सिर्जना, आत्मनिर्भरता र समुन्नत समाजको निर्माणका लागि कार्यक्रम उपयोगी हुनेमा सहभागीले विश्वास व्यक्त गरेका थिए ।

गाउँपालिकामा रहेका स्थानीय स्रोत साधनलाई प्रयोग गरी गाउँघरमै रोजगारमुलक उद्यमी बन्नमा मेडपा कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने गाउँपालिकाले जनाएको छ । उद्योग विकास समिति गठन गरेर मेडपा कार्यक्रम सञ्चालन गर्ने भएकोले बगनासकाली गाउँपालिकामा गाउँपालिका अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । चालु आर्थिक वर्षमा ४ वटा वडामा २९ लाखको बजेटबाट योजना छनोट गरी कार्यक्रम गरिने फोकल पर्सन न्यौपानेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*