बगनासकालीले तयार पार्यो स्थानीय पाठ्यक्रम

खबरपथ संवाददाता
१६ पुष २०७७, बिहीबार २०:१५

पाल्पा । बगनासकाली गाउँपालिकाले कक्षा १ को स्थानीय पाठ्यक्रम तयार पारेको छ । गाउँपालिकाले पुष ३ गते प्रधानाध्यापकहरू सहित सरोकारवालाहरूको सहभागितामा कार्यक्रम आयोजना गरी एकीकृत स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो बगनासकाली’ नामक पुस्तक सार्वजनिक गरेको हो ।

स्थानीय पाठ्यक्रममा आधारित रही निर्माण गरिएको कक्षा १ को पाठ्युपस्तकको चालु शैक्षिक सत्रदेखि नै लागु गर्ने गाउँपालिका स्रोतले जनाएको छ । ‘पाठ्यपुस्तक राष्ट्रिय पाठ्यक्रम २०७६ अनुसार कुल १०० पूर्णाङ्क र पाठ्यभार ५ रहेको छ ।’ प्रकाशन समितिका संयोजक दयाराज कँडेलले बताउनुभयो । कँडेलका अनुसार यो कक्षा १ को कूल पाठ्यभारको २० प्रतिशत हो । गाउँपालिकाका महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल, भौगोलिक अवस्था, इतिहास, कला, कृषिलगायतलाई समावेश गरी उक्त स्थानीय पाठ्क्रम निर्माण गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्धारण गरको पाठ्यक्रममा स्थानीय विषय पनि समेट्नुपर्ने उल्लेख छ । आधारभूत तहको ८ सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान छ । सोही अनुसार बगनासकाली गाउँपालिकाले कक्षा १ को पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरेको पालिका उपाध्यक्ष सरस्वती चिदीको भनाई छ । शिक्षा शाखा प्रमुख गुनाराम खनालले शिक्षालाई समयसापेक्ष र प्रभावकारी बनाउन स्थानीय पाठ्क्रममा आधारित पाठ्यपुस्तक निर्माण गरिएको जानकारी दिनुभयो । विष्णु मा.वि.का प्रधानाध्यापक सुरेश गैरेको अध्यक्षता, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालको प्रमुख आतिथ्यता र शिक्षा शाखा प्रमुख गुनाराम खनालको सञ्चालनमा कार्यक्रम भएको हो ।

यसअघि जिल्लाको माथागढी गाउँपालिका आफैले पाठ्यक्रम निर्माण गरेर स्थानीय शिक्षामा नयाँ शुरुवात गरिसकेको छ । माथागढीमा चालु शैक्षिक सत्रदेखि स्थानीय पाठ्क्रममा आधारित पाठ्यपुस्तकको पठनपाठन शुरु भइसकेको छ । गाउँपालिका स्रोतका अनुसार पालिकाभित्रका सबै विद्यालयमा कक्षा १ देखि ६ सम्म सय पूर्णाङ्कको ‘हाम्रो माथागढी’ पुस्तक तयार गरी पाठ्यक्रम लागु भएको हो । पाल्पा जिल्लाका १० वटा स्थानीय तहमध्ये स्थानीय पाठ्यक्रम लागु गर्ने माथागढी गाउँपालिकाको पहिलो र बगनासकालीको दोस्रो शुरुवात हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*